२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


डाइनोसरको समयको दुर्लभ वनस्पति काठमाडौंमा विभिन्न स्थानमा अझै जीवित


7.215k
Shares

काठमाडौं, फागुन २ । सृष्टिको साक्षीका रुपमा रहेको एउटा वनस्पतिको अस्तित्व काठमाडौंका विभिन्न स्थानमा अझै जीवित छ । जापानमा हानिएको अणु बमले समेत अस्तित्व मेटाउन नसकेको जिंको बाइलोबा नामको यो रुख चैत वैशाखमा पहेंलो फुल्छ भने अरुबेला उजाड रहन्छ । त्रिचन्द्र कलेज, नारायणहिटी दरबार र वनस्पति उद्यान गोदाबरीमा केही रुख छन् ।

वास्तविक नाम जिन्को बाइलोबा रहेको यो रुखको अंग्रेजी नाम भने मेदेनहेर हो । त्रिचन्द्र कलेजमा रहेको रुख संरक्षण नहुँदा संकटमारहेको देखिन्छ । कलेज प्रशासनले यसको हिफाजतमा लापर्वाही गरेको प्रष्ट हुन्छ । तर नारायणहिटी हातामा भने यसको संरक्षण राम्रो तरिकाले गरेको पाइयो । रुखको पहिचान समेत खुलाइएको यो रुखका बारे धेरैलाई ज्ञान छैन । जापानको हिरोसीमा नागासाकी बमकाण्डको समय विश्वभर भएका वनस्पती नास हुने क्रममा पनि जीवित रहन सफल यो रुखको विशेषता भने यस्तो छ । यो परापूर्वकालको वनस्पति हो । यो डाइनोसर समयदेखिको विरुवा हो तर यो अहिलेसम्म पनि जीवित छ । पातहरुले समय अनुसार रंङहरु परिवर्तन गर्ने गरेको वनस्पति विभागको प्रवक्ता संगीता स्वाँर बताउनुहुन्छ ।

जिन्को बाइलोबा नष्ट नहोस भन्ने हेतुले बनस्पति विभागले गोदावरीको बनस्पति उद्यान यसको पालुवा संरक्षण गरेर राखेको छ । बाटो विस्तार क्रममा टुँडिखेलमा रहेको रुख अस्तित्वविहीन बनेको छ ।

जिन्को बाइलोबा रुखको पात औषधीय गुणले युक्त मानिन्छ । धेरै रोगको उपचार हुने भएकाले यसको पात पानीमा पकाएर खानेहरु भेटिन्छन् । त्यसो त नारायणहिटी दरबार परिसरमा अरु यस्तै दुर्लभ वनस्पति भेटिएका छन् । केराको बोट जस्तै देखिने रुखमा फुल्ने फूलका नाम हो– स्वर्गकी चरी । हेर्दा केराको बोट जस्तो देखिने यो फूलको आकारप्रकार राजा महाराजाको श्रीपेचमा भएको कल्की जस्तै देखिने हुनाले संस्कृतिविद सत्यमोहन जोशीले यसको नाम स्वर्गको चरीको उपनाम दिनुभएको हो । अनि यी रुख तात्कालिन जर्मन चान्सलर रोमन हरजोगले राजा वीरेन्द्रलाई उपहारमा दिइएको हो । उपहारमा प्राप्त चारमध्ये दुई रुख नारायणहिटी दरबार र अर्को दुईवटा राजाकी बहिनी शोभालक्ष्मी देवी शाहको निवासमा रोपिएको थियो । यी बाहेक वर्षेनी स साना स्याउ फल्ने यी ठूला दुई दुर्लभ रुख पनि दशकौंदेखि राजसंस्थाको इतिहास बोकेर उभिइरहेका छन् । दुर्लभ वनस्पति मात्र होइन, इतिहासको नासोका रुपमा रहेका यस्ता वस्तुको संरक्षण मात्र हैन, विस्तार पनि आजको आवश्यकता हो ।