२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


‘कोरोना’ संक्रमणबाट इटालीमा चारजनाको मृत्यु


0
Shares

रोम, फागुन १२ । इटालीमा नयाँ ‘कोरोनाभाइरस’को संक्रमणबाट सोमबारसम्ममा चारजनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

उत्तरी लोम्बार्डी क्षेत्रमा पछिल्लोपटक एकजना ८४ वर्षका वृद्धको कोरोनाकै संक्रमणबाट मृत्यु भएको हो ।

इटालीको लोम्बार्डीमै यसअघि अरु तीनजनाको कोरोना संक्रमणबाट ज्यान गएको थियो । यहाँ इटाली सरकारले पूरै गाउँ–बस्तीलाई अलग्याएको छ र सुरक्षा व्यवस्था कडा बनाएको छ ।

इटालीको नागरिक सुरक्षा विभागका प्रमुख एन्जेलो बोरेल्लीले मुलुकभर आइतबारसम्ममा १५० जनाभन्दा बढीलाई कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् ।

युरोपमै इटालीमा सबैभन्दा बढी कोरोना संक्रमित व्यक्ति देखिएका छन् ।

लोम्बार्डीका १० ओटा तथा छिमेकी भेनिटो सहर–गाउँलाई अन्य क्षेत्रबाट अलग्याइएको छ र झन्डै ५० हजार मानिसलाई अन्यत्र जान दिइएको छैन ।

स्थानीय अधिकारीहरुले बारहरु, रेस्टुराँ र डिस्को बन्द गर्न आदेश दिएका छन् ।

कोरोनाकै कारण मिलान फेसन सप्ताह, भेनिस कार्निभल र सिरी ‘ए’ फुटबल खेलहरु स्थगन गरिएका छन् । मिलानको निकै लोकप्रिय ला स्कालामा सन्चालित ओपेराहरु रद्द गरिएका छन् ।

इटालीमा सबैभन्दा बढी कोरोना संक्रमितहरु लोम्बार्डीमा भेटिएका छन् । अधिकारीहरुले पहिलो कोरोना संक्रमित ३८ वर्षीय व्यक्तिमाथि कडा निगरानी गरिएको बताएका छन् । रासस/एएफपी