धनकुटा । अलैंचीको मूल्य ओरालो लाग्ने क्रम जारी छ । उचित मुल्य नपाउँदा धनकुटाका अलैँची कृषक तथा व्यापारीहरु चिन्तित भएका छन् ।
अहिले बजारमा अलैँचीको कारोवार प्रतिमन २५ देखि २६ हजार रुपैयाँमा मात्र हुन थालेको छ ।
गत वर्ष करिब ३० हजार रुपैयाँ सम्ममा कारोवार भएको थियो । चार वर्षअघि प्रतिमन १ लाख २० हजार रुपैयाँबाट ओरालो लागेर अलैँचीको मुल्य अहिले २५ हजार रुपैयाँ पुगेको हो ।
मूल्य निरन्तर ओरालो लाग्दा अलैँचीको कारोवारनै प्रायः ठप्प रहेको अलैँची व्यवसायी महासंघ धनकुटाका अध्यक्ष इन्द्र तितुङले जानकारी दिए ।
नेपालबाट भारत जाने अलैँचीमा विभिन्न नक्कली अलैँचीहरु मिसावट भएपछि मूल्यमा गिरावट आएको हुनसक्ने अलैंची व्यवसायीहरु बताउँछन् ।
नेपालमा अलैँचीको गुणस्तर जाँच गर्ने क्वारेन्टाइन र नेपालमा उत्पादित अलैँचीको विश्व बजारमा आफ्नै जात नभएका कारण मिसावट भएकाले नेपाली किसान र व्यापारी मारमा परेको उनीहरुको गुनासो छ । धनकुटामा २ सय ४० हेक्टरमा अलैँची खेती हुने गरेको छ ।





प्रतिक्रिया दिनुहोस्