२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


महाअभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीश स्वतः निलम्बित


598
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी पदबाट स्वतः निलम्बनमा परेका छन् ।

नेपालको संविधानको धारा १०१ (२) अन्तर्गत संसद् सचिवालयमा प्रधानन्यायधीशविरुद्ध दर्ता भएपछि उनी स्वतः निलम्बनमा परेका हुन् । यससम्बन्धी पत्र सर्वोच्चमा पुगेपछि निलम्बनले औपचारिकता पाउनेछ ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संविधानको धारा १ सय १ को उपधारा २ बमोजिम संसदमा महाअभियोग दर्ता गरेको जानकारी दिनुभयो ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले पनि बिहान सांसदहरू आएर महाभियोग दर्ता गरेको जानकारी दिनुभयो ।

प्रस्तावमा सांसदहरू गगन थापा, मीनेन्द्र रिजाल, जीवनराम श्रेष्ठ, पुष्पा भुसाल, देव गुरूङलगायत करिब एक सय सांसदले हस्ताक्षर गर्नुभएको छ ।

मन्त्रिपरिषदमा भागबन्डा खोजेको, विभिन्न मुद्दामा सौदाबाजी गरेको आरोप प्रधानन्यायाधीश राणामाथि लगाइएको छ । केही समयअघि सर्वोच्चका न्यायाधीशहरूले नै राणाको राजीनामा माग्दै इजलास बहिष्कार गरेका थिए ।

राणाविरुद्ध नेपाल बारले आजदेखि फेरि आन्दोलन थालेलगत्तै सत्ता गठबन्धनले महाअभियोग प्रस्ताव दर्ता गराएका हुन् । महाअभियोग पारित हुन भने संसदको दुई तिहाई मत चाहिन्छ ।

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएको यो दोस्रोपटक हो । यसअघि सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता गरिए पनि पछि फिर्ता लिइएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग लगाइए पनि प्रक्रियामा नपुग्दै सर्वोच्चको आदेशले पद त्याग्नु परेको थियो ।