Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


‘ए’ डिभिजन लिगः आज तीन खेल हुने


312
Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज शनिबार तीन खेलहरु हुँदैछ ।

लिगको दशौं चरण अन्तर्गत शनिबार दुई खेल दशरथ रंगशाला र एक खेल एन्फा कप्लेक्समा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र च्यासल युथ क्लबबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ । मछिन्द्रले च्यासललाई हराएर शीर्ष स्थानमा ७ अंकको अग्रता बनाउन चाहन्छ । मछिन्द्र ९ खेलमा २३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । यस्तै, पुछारमा रहेको च्यासलले मछिन्द्रलाई हराएर रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ । च्यासल ९ खेलमा ५ अंक जोडेर पुछारमा रहेको छ । रेलिगेसनबाट बच्न च्यासललाई यस खेल महत्वपूर्ण रहेको छ ।

दशरथ रंगशालामा हुने दोस्रो खेल मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबीच खेल दिउँसो पौने ५ बजे सुरु हुनेछ । मनाङ ९ खेलमा १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । उपाधि होड कायम राख्न मनाङ थ्री स्टारलाई हराउन चाहन्छ । चौथो स्थानमा रहेको थ्री स्टार मनाङलाई हराएर अंक तालिका सुधार्न चाहन्छ । थ्री स्टार ९ खेलमा १६ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

यस्तै सातदोबाटोस्थित एन्फा कप्लेक्समा पुलिस र सातदोबाटोबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । दुवै टोली एक अर्कालाई पराजित गरी अंक तालिका सुधार्न चाहन्छन् । पुलिस १० अंक जोडेर दशौँ स्थानमा रहेको छ भने सातदोबाटो १२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।