
धनुषा । नेपाल रेल्वे कम्पनीले रेलको लिकमा अव्यवस्थित रूपमा लाग्दै आएको हाटबजार हटाउन सुरु गरेको छ ।
जिल्लाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुने निश्चित भएपछि लिकमा भएका हाटबजार हटाउन लागिएको हो ।
अगामी महिनादेखि रेल सेवा सञ्चालनको तयारी गरेको कम्पनीले जनकपुरधाम उपमहानगरपालिका– १ सीता चोकस्थित रेल्वे लिकमा व्यापारीले लगाउँदै आएको दैनिक हाटबजार तत्काल हटाउन सुरु गरेको महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो ।
जनकपुरधामसहित ठाउँ–ठाउँमा रेल्वे लिकमै तरकारी हाटबजार लगाउने गरिएको छ । हाटबजार रेल्वे लिकबाट अन्यत्र सार्ने विषयमा जनप्रतिनिधि, व्यापारी र स्थानीयसँग छलफल गरेर वैकल्पिक ठाउँको खोजी गर्ने महाप्रबन्धन झाको भनाइ छ ।
खरिद गरेर पनि लामो समयदेखि सञ्चालन हुन नसकेका दुई रेल सेट नेपाल रेल्वे कम्पनीले औपचारिक रुपमा उद्घाटन नभइन्जेल आगामी फागुन १ गतेदेखि दैनिक जयनगरदेखि कुर्थासम्म विनायात्रु सञ्चालन गर्ने तयारी गरेको छ ।
रेल उद्घाटनपछि सुरुका १५ दिन दिनको एक पटक आउने र जाने गरी रेल सञ्चालन गर्ने र त्यसपछि यात्रुको चाप तथा आवश्यकता हेरेर दिनमा २/३ पटकसम्म पनि रेल सञ्चालन गर्न सकिने तयारी गरेको उहाँले बताउनुभयो ।







प्रतिक्रिया दिनुहोस्