Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


‘धावनमार्ग टालटुलमा नै काम चलाउनुपर्ने बाध्यता’


0
Shares

काठमाडौं, साउन २२ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा बारम्बार समस्या आउने गरेको छ ।

देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच नै बारम्बार उप्किने गरेको छ । अझ वर्षातमा यो समस्या बढी नै हुने गरेको छ ।

लामो समयसम्म मर्मतको काममात्र हुँदा धावनमार्ग उप्किने समस्या देखिँदै आएको बताइन्छ ।

वर्षातको समयमा निरन्तर परिरहने पानी, पानीमै रातको छोटो समयमा कालोपत्र गरिनु र पानी धावनमार्गमै जमिरहने हुँदा घाम लाग्दा कालोपत्र चर्कने र फुट्ने गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

पछिल्लो समयमा विमानस्थलको धावनमार्ग दैनिकजस्तो उप्किने गरेपछि तत्कालै धावनमार्ग मर्मतका लागि  ‘क्विक रेस्पोन्स टिम’ नै बनाइएको छ । जुन टिम धावनमार्गमा समस्या देखिनासाथ दौडिने र पुर्ने काम गर्छ ।

विमानस्थलको दक्षिणतर्फ बढी अवतरण हुने हुँदा त्यसतर्फ बढी समस्या देखिने गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरको भनाइ छ ।

विमानस्थलको कालोपत्र उप्कने समस्या कम गर्नका लागि अरु विकल्प नभएकाले टालटुलमा नै काम चलाउनुपर्ने बाध्यता रहेको उनले बताए ।

धावनमार्ग उप्किने समस्याले कतिपय विमानहरु आकाशमै होल्डसमेत हुने गरेका छन् ।

विमानस्थलको व्यवस्थापनका लागि पटक–पटक टेन्डर आह्वान गर्दा पनि रातमा नै काम गर्नुपर्ने र काम गर्ने अवधि कम भएकाले सो टेन्डरको प्रक्रिया अगाडि नबढेको प्रवक्ता ठाकुरले बताए ।

तत्कालका लागि आइपर्ने यस्ता समस्या समाधानका लागि क्विक रेस्पोन्स टिम सक्रिय रहेको जनाइएको छ ।