अनिल तिवारी (इमेज)
वीरगन्ज, साउन २२ । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्योगी–व्यवसायीलाईमात्र दुहुनुपर्छ भन्ने परम्परागत सोच हटाउनुपर्ने बताएका छन् ।
मुलुकमा लामो संघर्षपछि बनेको बलियो सरकारले व्यवसायीलाई प्रोत्साहित गर्नुपर्ने उनको भनाइ छ ।
जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघहरुको राष्ट्रिय भेलाको मंगलबार वीरगन्जमा उद्घाटन गर्दै अध्यक्ष दाहालले राज्यले उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोण फेर्नुपर्ने बताए ।
उत्पादन गरी रोजगारी दिने र नाफा कमाउने अधिकतम् स्वतन्त्रता उद्योगी–व्यवसायीले पाउनुपर्ने उनले बताए ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले सरकारले अघि सारेको समृद्धिको अभियानलाई सफल बनाउन उद्योगी–व्यवसायीसँग सहकार्य गरी अघि बढ्ने बताए ।
मन्त्री यादवले उद्योगी–व्यवसायीको सुविधा तथा सहजताका लागि चाँडै एकद्धार प्रणालीबाट सेवा दिने सरकारले तयारी गरेको पनि बताए ।
सो अवसरमा उद्योगी–व्यवसायीहरुले अहिलेको सरकारबाट आफूहरुले धेरै अपेक्षा गरेको तर अहिलेसम्म सरकारको काम–कारबाहीबाट सन्तुष्ट हुन नसकेको बताएका थिए ।
मुलुक संघीयतामा गएपनि परिवर्तनभन्दा पनि करको मारले उद्योगी–व्यवसायीलाई समस्यामा पारेको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बताइन् ।
कार्यक्रममा देशभरिका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्