२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


थ्रीस्टार फाइनलमा


0
Shares

झापा, फागुन ८ । ‘ए’ डिभिजन टिम थ्रीस्टार क्लब झापामा जारी तेस्रो सताक्षी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

बिहीबार भएको पहिलो सेमिफाइनलमा आयोजक सताक्षीधाम स्पोर्टिङ क्लबलाई ३–१ ले सहजै पराजित गर्दै थ्रीस्टार फाइनलमा पुगेको हो ।

मध्यान्तरसम्म गोलरहित बराबरी खेलेको थ्रीस्टारका लागि अनन्त तामाङ, अशोक खवास र कप्तान विक्रम लामाले एक/एक गोल गरे ।

खेल सकिन दुई मिनेट बाँकी छँदा सताक्षीधामका शिशिर लेखीलाई ‘डी बक्स’भित्र थ्रीस्टारका खेलाडीले लडाएपछि पाएको पेनाल्टी प्रहारलाई सदुपयोग गर्दैै पदम भट्टराईले सान्त्वना गोल गरेका थिए ।

थ्रीस्टारका अनन्त ‘म्यान अफ दी म्याच’ घोषित हुँदै १० हजार रुपैयाँ जिते ।

मच्छिन्द्र र आर्मी भिड्दै

दोस्रो सेमिफाइनलमा शुक्रबार ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब र लिगको उपविजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन् ।

यही फागुन ३ गते भएको लिगको अन्तिम भिडन्तमा मच्छिन्द्रले खेल १–० ले आफ्नो पक्षमा पार्दै पहिलोपटक लिगको उपाधि जितेको थियो ।

शुक्रबारको खेल निकै प्रतिस्पर्धात्मक हुने र आर्मीलाई बदला लिने अवसरका रुपमा समेत हेरिएको छ ।