खिलनाथ ताजपुरिया र विशाल लामा (इमेज)
काठमाडौं, फागुन ८ । पोलहरुमा जताततै झुन्डिएका बिजुली, टेलिभिजन, टेलिफोन र इन्टरनेटका तारको गुजुल्टो व्यवस्थापन अभियानअन्तर्गत् काठमाडौंमा तार भूमिगत गर्न थालिएको छ ।
पहिलो चरणमा काठमाडौंको उत्तरी क्षेत्र महाराजगञ्ज र मध्यक्षेत्र रत्नपार्क वितरण केन्द्रअन्तर्गत् बिजुलीको तार भूमिगत गर्न थालिएको हो ।
विद्युत् वितरण प्रणालीलाई प्रभावकारी र सुरक्षित बनाउने तथा सहरी क्षेत्रको सुन्दरता जोगाउने लक्ष्यसहित काठमाडौं उपत्यकामा तार भूमिगत गर्ने काम अघि बढेको छ ।
विद्युत् प्राधिकरणले महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको काममा दुई करोड ५५ लाख ८१ हजार अमेरिकी डलर ठेक्का सम्झौता गरेको छ भने रत्नपार्क वितरण केन्द्रअन्तर्गतको काम दुई करोड २९ लाख डलर र ८३ करोड १५ लाख रुपैयाँमा सम्झौता गरेको छ ।
यी वितरण केन्द्रअन्तर्गतका ग्राहकको घरमा तत्कालै स्मार्ट मिटर जोडिने विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणकाअनुसार पहिलो चरणमा दुई वितरण केन्द्रमा यो काम सकिएपछि काठमाडौं उपत्यकाका सबै वितरण केन्द्रमा तार भूमिगत गरिने छ ।
एसियाली विकास बैंक (एडीबी)को १५ करोड अमेरिकी डलर ऋण दिएपछि सरकारले सहरी क्षेत्रमा विद्यमान अव्यवस्थित बिजुली तथा केबल लाइनका गुजुल्टे तार हटाउने योजना कार्यान्वयनमा ल्याएको हो ।
तार अव्यवस्थित हुँदा सडक विस्तारमा मात्र समस्या परिरहेको छैन, काठमाडौं उपत्यकाका पोल तथा तारको गुजुल्टामाा निरन्तर आगलागीका घटना दोहोरिइरहेका छन् ।
तार भूमिगत भएपछि आगलागी, चुहावट तथा वितरण प्रणालीमा दोहोरिरहेको समस्या नियन्त्रण हुने प्राधिकरणको विश्वास छ ।
भारतको केईआइ कम्पनीले ठेक्का सम्झौताअनुसार एचडीसी अर्थात् हरिजेन्टल डाइरेक्सनल ड्रिलिङ प्रविधिबाट दुई वितरण प्रणालीअन्तर्गतको तार सन् २०२१ भित्रै भूमिगत गरिसक्ने छ ।
यो प्रविधिअनुसार सीधा सडकमा २०० मिटरसम्म भूमिगत ड्रिल गरिन्छ र सडक नखनी भित्र–भित्रै तार बिछ्याइने छ ।
काठमाडौंको विद्युत् प्रणाली, भूमिगत, सुदृढीकरण र स्वचालित गर्ने उद्देश्यले सुरु गरिएको योजनामा टेलिफोन, इन्टरनेट तथा केबुल टेलिभिजनका तारसमेत एकैपटक भूमिगत गरिनेछ ।
काठमाडौं उपत्यका विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको प्रधानमन्त्री केपी शर्मा ओलीले गत सोमबार शुभारम्भ गरेका हुन् ।





प्रतिक्रिया दिनुहोस्