काठमाडौं, फागुन ८ । सेक्युरिटी प्रेस खरिदको कमिसनमा सार्वजनिक लेखा समितिका सदस्यहरुलाई पनि भाग लागेको भन्ने विषयले समितिमा हंगामा भएको छ ।
बिहीबार बसेको समितिको बैठकमा सामाजिक सञ्जालमा समिति सदस्यहरुको फोटोसहितको सामग्री आएको विषयमा सांसदहरुले हंगामा गरेका हुन् ।
समितिका सदस्य सूर्य पाठकले सामाजिक सञ्जालमा कहिल्यै बैठकमा नआएका सदस्यको समेत नाम जोडिएको भन्दै आपत्ति जनाए ।
उनले चरित्र हत्या गर्न खोजेको भन्दै सामाजिक सञ्जालमा हल्ला फैलाउनेलाई तत्काल कारबाही गर्न माग गरे ।
चार अर्ब रुपैयाँ लेखा समिति सदस्यले खान लागेको भन्दै सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहेको र चरित्र हत्या गर्ने काम भइरहेको पाठकको भनाइ थियो ।
सांसद मोहम्मद इस्तियाक राईले यसरी सामाजिक सञ्जालमा राख्ने तथा सेयर गर्नेलाई पनि तत्काल ‘साइबर क्राइम’को मुद्दा लगाउनुपर्ने बताए ।
यस्तै, सांसद मीनेन्द्र रिजालले उक्त व्यक्तिले लेखा समितिको मर्यादामाथि आक्रमण गर्न खोजेको भन्दै तत्काल कानुनी दायरामा ल्याउनुपर्ने बताए ।
समितिका सभापत्ति भरत शाहले हल्ला फैलाउने व्यक्तिलाई कारबाहीको दायरामा ल्याइने बताए ।





प्रतिक्रिया दिनुहोस्