
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार पीडित व्यक्तिको गुनासोलाई समयमै सम्बोधन गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिनुभएको छ ।
आइतबार काठमाडौंको बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको कार्यालय अनुगमन गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगार पीडित व्यक्तिको गुनासो बुझ्न र समस्या समाधानका लागि ढिलो नगर्न विभागलाई निर्देशन दिनुभएको हो ।
आफूले अनुगमनका क्रममा विभागका कर्मचारीले पीडितको समस्या समाधानमा चासो नदेखाएको पाएको भन्दै मन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशीने श्रमिकलाई सहजीकरणका लागि केही दिनमै श्रमिक सहायता कक्ष सञ्चालन हुने बताउनुभयो ।
मन्त्री श्रेष्ठले वैदेशिक रोजगार विभागलाई कसरी सुधार गर्ने, विभागका समस्याहरु के–के रहेका छन् र पीडितका गुनासोलाई कसरी छिटो भन्दा छिटो सुनुवाई गर्न सकिन्छ भन्ने विषयमा विभागका महानिर्देशक, निर्देशकलगायतका कर्मचारीहरुले छलफल गरी मन्त्रालयमा पेश गर्न पनि आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्