काठमाडौं, फागुन ७ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले राष्ट्र बैंकले लिएका नीतिले बैंक तथा वित्तीय क्षेत्रलाई लाभ पुगेको बताएका छन् ।
पुँजी वृद्धि, मर्जरलाई प्रोत्साहन, सीएसआरमा अनिवार्य लगानीजस्ता नीतिहरु फलदायी भएको उनले उल्लेख गरे ।
बैंक अफ काठमाण्डौंको २५औं वार्षिकोत्सवको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले विओकेकै उदाहरण दिएर यी तीनै नीति सही ठहरिएको दाबी गरेका हुन् ।
आफूले सुरुमा बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धिको निर्णय गर्दा धेरै दबाब झेल्नु परे पनि अहिले सोही नीतिका कारण बैंक तथा वित्तीय संस्था बलियो भएका, कामदार, कर्मचारी उत्पादकत्व बढेको, नाफा बढेको बताए ।
०७२ सालको भूकम्पले सिकाएको पाठपछि ल्याइएको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको नाफाबाट संस्थागत सामाजिक उत्तरदायित्वमा १ प्रतिशत अनिवार्य खर्च गर्नुपर्ने व्यवस्था गरेको थियो ।
यो सिएसआर फण्डले अहिले उपलब्धिमूलक देखिने काम गरिरहेको गभर्नर नेपाललले उल्लेख गरे ।
विओकेले आफ्नो रजतउत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत् काठमाडौं स्कुल अफ चाइल्ड हेल्थलाई आइसीयुकक्ष निर्माण गर्न एक करोड सहयोगको घोषणा गर्दै गर्दै संस्थाका अध्यक्ष प्रा. डा. भगवान कोइरालालाई चेक हस्तारन्तरण गर्यो ।
विओकेका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तले पनि मर्जरपछिको अभ्यासका क्रममा बैंकको प्रतिकर्मचारी उत्पादकत्व ८८ प्रतिशतले बढेर २४ लाख ४५ हजार रुपैयाँ पुगेको तथ्यांक प्रस्तुत गरे ।
पन्तले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा खुद नाफा २० प्रतिशतले बढाएर ८८ करोड बढी पुर्याउन सफल भएको बताए ।
कृषि क्षेत्रमा उल्लेख्य लगानी गरेको दाबी गर्ने बैंकले विओके कृषि कर्जा, सहज बचत खाता, विओके स्मार्टजस्ता योजना सञ्चालनमा ल्याएको जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्