Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


नेकपा प्रदेश–२ को सरकार परिवर्तन गर्ने दाउमा


0
Shares

नवीन सिंह (इमेज)

जनकपुर, फागुन ७ । प्रदेश नम्बर–२ मा सरकार परिवर्तनको बहस हुन थालेको छ ।

मधेसवादी दल राष्ट्रिय जनता पार्टीसँग निकटता बढाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकार परिवर्तनको खेलमा कम्मर कसेर लागेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिएको समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीचको गठबन्धनमा बनेको अहिलेको प्रदेश नम्बर–२ को सरकार परिवर्तनका खेलहरु हुन थालेको छ ।

राजपा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग नजिकिएपछि सत्ता समीकरणमा असर पर्ने सम्भावना बढेको हो ।

प्रदेशसभामा प्रमुख विपक्षी दलको भूमिकामा रहेको नेकपा प्रदेश नम्बर–२ को सरकार परिवर्तनमा कस्सिएर लागेको छ ।

हालै सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपा–राजपा साझेदारी र समाजवादी पार्टी र राजपाबीचको एकता प्रक्रिया अवरुद्ध भएबाट नेकपा उत्साहित भएको देखिन्छ ।

समाजवादीका नेता एवं प्रदेश नम्बर–२ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव दुई महिनापछि सत्ता समीकरणमा फेरबदल आउनसक्ने ठान्छन् ।

मुख्यमन्त्री लालबाबु राउत संघीयता नरुचाउनेले सरकार परिवर्तनको अफवाह फैलाएको ठान्छन् । भलै यो सरकार नढल्नेमा उनी विश्वस्त छन् ।

उसो त सत्तासाझेदार दल राजपा नेपालका प्रमुख सचेतक परमेश्वर साह मधेसी जनताले मधेसको माग सम्बोधन गराउन मत दिएको सरकार परिवर्तन नहुने बताउँछन् ।

मधेसवादी दलहरुको गठबन्धनमा रहेको प्रदेश नम्बर–२ को सरकारसँग संघीय सरकारको विभिन्न मुद्दामा मतान्तर हुँदै आएको छ ।

नेकपाले प्रदेश नम्बर–२ को सरकार ढाल्न चाहनु नौलो विषय होइन । तर, राजपाले नेकपासँग निकटता बढाउँदै लगेबाट प्रदेश नम्बर–२ को सरकार सुरक्षित छ भनेर ढुक्क हुने स्थिति भने देखिँदैन ।

भिडियो हेर्नुहोस्