४ असार २०८१, मंगलबार | Tue Jun 18 2024


हिमपातले सुदूरपश्चिम प्रदेशका तीन राजमार्ग बन्द


273
Shares

बैतडी/बागलुङ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा भएको हिमपातका कारण यहाँका तीनवटा राजमार्ग बन्द भएका छन् ।

राजमार्ग क्षेत्रमा बाक्लो हिउँ जमेकाले यातायात सेवा पूर्ण रुपमा बन्द रहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

यहाँको अनारखोली, खोडपे, देहिमाडौं क्षेत्रमा परेको हिउँले दशरथचन्द राजमार्ग, सतबाँझ धरमघर क्षेत्रको हिउँले महाकाली राजमार्ग र श्रीभावर ढोल्यामोड क्षेत्रको हिउँका कारण जयपुथ्वी राजमार्गको यातायात सेवा ठप्प रहेको हो ।

बिहीबार दिउँसोदेखि बन्द रहेका यी राजमार्ग बन्द हुँदा यात्रुहरु अलपत्र परेका छन् । काठमाडौं, धनगढी, महेन्द्रनगरबाट आएका र दार्चुला, बैतडीबाट छुटेका यातायातका साधनहरुबीच बाटोमै रोकिएका छन् । प्रहरी प्रवक्ता खड्काले इस्काभेटरको सहायताले राजमार्ग खुलाउने बताउनु भयो ।

यता, बागलुङ र पूर्वी रुकुम सिमा क्षेत्रमा दुई फिटभन्दा बढी हिउँ जमेको हुँदा यातायात ठप्प भएको निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष सूर्य बहादुर घर्ती मगरले जानकारी दिनुभयो । हिउँले सडक पुरिँदा बागलुङको बुर्तिबाङ र पूर्वी रुकुम चल्ने यातायात बन्द भएको हो ।