Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


नेपालले पहिलो मैत्रीपूर्ण खेल खेल्दै


0
Shares

काठमाडौं, साउन २२ । एसियन गेम्सको तयारीस्वरुप थाइल्यान्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फुटबल टोलीले मंगलबार (आज) पहिलो अभ्यास खेल खेल्दैछ ।

थाइल्यान्डको स्थानीय पुलिस टेरो क्लबसँग मंगलबार साँझ ५ बजे नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

नेपालले दोस्रो मैत्रीपूर्ण खेल यही साउन २५ गते थाइल्यान्डको यु–२३ टोलीसँग खेल्नेछ ।

थाइल्यान्डको १० दिने प्रशिक्षणपछि नेपाली टोली त्यहीँबाट इन्डोनेसिया जानेछ ।

नेपाली यु–२३ टोली साउन १८ गते थाइल्यान्ड गएको हो ।

नेपाल एसियन गेम्समा समूह ‘डी’मा छ । नेपालसँगै जापान, भियतनाम र पाकिस्तान समूहमा छन् ।

एसियाड भदौ २ गते औपचारिकरुपमा सुरु भएपनि फुटबलतर्फको प्रतिस्पर्धा साउन २९ देखि सुरु हुनेछ ।

प्रतियोगितामा २३ वर्षमुनिका खेलाडीसहित तीनजना सिनियर खेलाडी पनि खेल्न पाउनेछन् । त्यसका लागि किरणकुमार लिम्बू, रोहित चन्द र भरत खवासलाई टोलीमा राखिएको छ ।

नेपाली टोलीमा गोलकिपर किरणकुमार लिम्बू, एलान न्यौपाने, सोजित गुरुङ, डिफेन्डरमा अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी, गौरव बुढाथोकी र छिरिङ गुरुङ छन् ।

मिडफिल्डरमा रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापामगर, अन्जन विष्ट, अभिषेक रिजाल र तेज तामाङ, फरवार्डमा सुनिल बल, भरत खवास, सुमन लामा, विमल घर्तीमगर छन् ।

मुख्य प्रशिक्षक योतुकु कोजी र सहायक प्रशिक्षक बालगोपाल महर्जन छन् । रासस