
काठमाडौं, माघ २० । राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरुले बोर्डको बैठक तत्काल बोलाउन माग गरेको ज्ञापनपत्र लिन युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजले अस्वीकार गर्नुभएको छ ।
बिहीबार मन्त्रालयमा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरुले तत्काल बोर्डको बैठक बोलाउन माग गरेको ज्ञापनपत्र लिन मन्त्री गहरतराजले अस्वीकार गर्नुभएको हो । परिषद्को ज्ञापनपत्र बुझ्न अस्वीकार गरेपछि बोर्ड सदस्यहरुले युवा तथा खेलकुद मन्त्रालयको सचिवालयमा ज्ञापनपत्र दर्ता गराएका छन् ।
परिषद्का कार्यकारी बोर्ड सदस्य यकेन्द्रबहादुर कुँवरले विगत ५ महिना यता परिषद्को बैठक बस्न नसक्दा राखेपमा अन्योलता छाएको बताउनुभयो । राष्ट्रिय खेलकुद परिषद्मा भइरहेको अन्योलताको निकासका लागि तत्काल बैठक बोलाउन माग गरेको बताउनुभयो ।
त्यस्तै नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेलले परिषद्मा अहिले कर्मचारीहरुले तलब खान नपाउने परिस्थिति बन्नुको कारण खेलकुद मन्त्रीको अकर्मण्यता भएको आरोप लगाउनुभयो । उहाँले राखेपले नवौं राष्ट्रिय खेलकुद आयोजना गर्नुपर्ने भए पनि मन्त्रीका कारण लथालिंग भइरहेको बताउनु भयो । उहाँले खेलाडी र खेलमा रजनीति नगर्न पनि मन्त्री गहतराजलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्