
सुसन रामदाम र सानु माली (इमेज)
काठमाडौं, फागुन ६ । सरकारका गलत काम जनसमक्ष पुर्याउने मिडियाप्रति सत्ताधारीहरु प्रायः अनुदार देखिन्छन् । नेपालमा पनि सत्ताधारीहरुले मिडियाप्रति आक्रोश पोख्नु नयाँ विषय होइन ।
तर, प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमलाई गाली गरेर ‘रेकर्ड’ नै राख्न खोजेजस्तो देखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रमहरुमा मिडियाको आलोचना गर्न धेरै शब्द र समय खर्चिन थालेका छन् ।
पत्रकारले माइक्रोफोन र क्यामेरा सामुन्ने राख्नासाथ प्रधानमन्त्रीमा मिडियाप्रतिको नकारात्मक सोच विकसित हुन थालेको भान हुन्छ ।
विगतमा मिडियाले बाउलाई पनि तिमी भनेकोमा चित्त दुखाएका ओलीलाई पछिल्लो समय आफूले बालुवाटारमा बाँसुरी बजाएको फोटो छापेको अनि दार्चुलामा तुइनको भिडियो देखाएको पटक्कै चित्त बुझेन ।
सञ्चारमाध्यमको आलोचनात्मक शैलीको कटु विरोधी प्रधानमन्त्री ओली नेतृत्वको सरकारले सञ्चार क्षेत्रलाई संकुचित पार्ने कानुनहरु ल्याउन खोज्यो । तर, सफल भएन ।
प्रधानमन्त्री या सरकारको यो कदम कुण्ठायुक्त रहेको नेपाल पत्रकार महासंघका पूर्वसभापति तारानाथ दाहालले बताए ।
राम्रो समाचार प्रकाशन गर्ने मुटु भएका सम्पादक नभेटिएको प्रधानमन्त्रीको खरो टिप्पणीले एक समय हलचल नै ल्यायो । उनले सम्पादकहरुलाई बालुवाटार बोलाएर मुटु प्रकरण टुंग्याउन खोजे ।
सम्पादकको मुटुको विषय सामसुम नहुँदै बासुरी बजाएको तस्वीर छापेको भनेर फेरि सञ्चारमाध्यमविरुद्ध खनिनुले प्रधानमन्त्रीको प्रेसलाई बदनाम र हतोत्साही बनाउने मनस्थिति फेरि झल्किएको दाहाल ठान्छन् ।
कार्यकारीको कामको निगरानी गर्नु र गलत कामको पर्दाफास गर्नु सञ्चारमाध्यमको धर्म हो । तर, त्यही भूमिकाको आलोचनामा प्रधानमन्त्री उत्रिएका छन् ।
नेपालको पत्रकारितामा राजनीतिक प्रभाव बढ्दै गएको चिन्ताजनक अवस्थामा प्रधानमन्त्रीको आक्रोशले सकारात्मक सन्देश दिँदैन । सत्ताधारी र प्रेसले आ–आफ्नो धर्म निर्वाह गर्नुपर्दछ ।
प्रधानमन्त्रीको पटक–पटकको आक्रोशबाट प्रेस तर्सनुको साटो अझ सशक्त भएर कर्तव्य निर्वाहमा जुटेमात्र स्वतन्त्र र व्यावसायिक पत्रकारिताको भविष्य सुरक्षित रहने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्