
रोमन आचार्य र विनोद बजगाइँ (इमेज)
काठमाडौं, फागुन ६ । नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारको दुईवर्षे कार्यकाल असफल भएको ठहर गरेको छ । योसँगै कांग्रेसको प्रमुख प्रतिपक्षी भूमिकाको पनि लेखाजोखा हुन थालेको छ ।
सरकारको आलोचना प्रतिपक्षी दलको धर्म नै हो । यसो भन्दैमा भावी सरकारको रुपमा हेरिने प्रमुख विपक्षी दलको भूमिकाको मूल्यांकनको पनि अर्थ हुन्छ ।
सरकारको दुईवर्षे कार्यकाल असफल भएको तर्क गरिरहेको कांग्रेसले यो अवधिमा प्रतिपक्षीको रुपमा सफलता प्राप्त नगरेको ठान्नेहरुको कमी छैन ।
सरकार व्यस्थापिका, न्यायपालिका र संवैधानिक निकायहरुमा हावी भइरहँदा कांग्रेसले त्यसको प्रतिकार गर्न नसकेको ठानिएको छ ।
अभिव्यक्ति स्वतन्त्रतामा संकुचनको प्रयास, भ्रष्टाचार तथा कुशासनको विपक्षमा कांग्रेस खरो उत्रन नसकेको विश्लेषण भइरहेको छ ।
राजनीतिक विश्लेषक किशोर नेपाल कांग्रेसले पार्टीभित्रै प्रतिपक्षी खोज्दा अलमलमा परेको ठान्छन् ।
कांग्रेस आन्तरिक कचिंगलबाट निस्कन सकेन । संसदमा उसले उठाएका विषयहरु पनि अल्पमतमा पर्यो । संसदीय दलको बैठक बसेर उठान गर्नुपर्ने विषयहरुमा ध्यानै दिएन ।
सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा तथा केन्द्रीय कार्यसमितिका मुख्य नेताहरुको कमजोरी प्रष्टै देखियो ।
हो, संख्याका हिसाबले कांग्रेस संसदमा सानो छ । केही मुद्दामा संसदमा कांग्रेसले हस्तक्षेपकारी भूमिका खेलेको देखिन्छ । संसद अवरोध पनि गर्यो ।
तर, केन्द्रीय समिति तथा संसदीय दलमा छलफल नगरी चालेका कदम परिणाममुखी नबनेको केन्द्रीय सदस्य धनराज गुरुङको तर्क छ ।
सरकार पाइला–पाइलामा असफल भएको कांग्रेसको आरोप छ । तर, विपक्षी दलको आभास दिन नसक्नु कांग्रेसको पनि असफलता हो ।
कतिपय मुद्दामा कुन दल सत्तापक्ष हो, कुन प्रतिपक्षी भनेर छुट्याउनै गाह्रो भयो ।
‘काले काले मिलेर खाऊँ भाले’को स्थितिबाट मुक्त नभएसम्म कांग्रेस प्रतिपक्षी दलको रुपमा खरो उत्रन सक्ने देखिँदैन ।
प्रतिक्रिया दिनुहोस्