काठमाडौं । खानी तथा भूगर्भ बिभागमा कार्यरत केही वैज्ञानिकहरु अख्तियारको छानविनमा परेका छन् । खानी तथा भूगर्भ विभागमा वैज्ञानिकहरु नटिक्ने पुरानो रोग अख्तियारले छानविन थालेपछि फेरी बल्झिएको छ । क्षमता अनुसार मुलुकका लागि केहि गर्न खोजे पनि उनीहरुलाई टिक्न दिइँदैन । कतिपयले क्षमता अनुसारको जिम्मेवारी पनि पाउँदैनन् । खनिजसम्बन्धी विज्ञको अभाव भई रहेको अवस्थामा वैज्ञानिकहरुमाथि अख्तियारले छानविन थालेपछि खनिज अनुसन्धान अन्वेषण छायाँमा परेको छ ।
केपी शर्मा ओली प्रधानमन्त्री हुँदा मन्त्रीको दबाबमा पशुपति मुरारकालगायत सिमेण्ट उद्योगीको जरिवाना मिनाहा जस्तै बनाउन योजना तयार गरिँदा वैज्ञानिकहरु पनि मुछिएका हुन् । खानी विभागमा इमान्दार र सोझा माइन इन्जिनियरका रुपमा परिचित धर्मराज खड्का पनि अख्तियारको फन्दामा पारिएका छन् ।
भूगर्भविद् डाक्टर सौनक भण्डारीलाई पनि फसाईएको छ । चीनबाट विद्यावारधि गरेर नेपालमै केहि गर्न फर्किएको २ वर्ष पनि भएको छैन । तर, केहि गर्न खोज्ने उनलाई पनि फसाइएको छ । उनी चीनबाट फर्किएलगत्तै खानी दोहनबारे छानविन समिति पुनः गठन गर्ने निर्णय गरिएको थियो । समितिमा उनी पनि छन् । विज्ञानमा दख्खल भएका सौनकले ऐन नियम र कानूनबारे खासै हेक्का गरेनन् । इन्जिनियरहरू धर्मराज खड्का र प्रशान्त बोहराका अलावा अनुसन्धानमूलक कार्यमा दख्खल राख्ने बसन्त अधिकारी पनि समितिमा बसेका थिए । यि सबै वैज्ञानिकहरू खनिज अनुसन्धानमा दख्खल राख्ने भएता पनि खनिज ऐन त्यसमा रहेका प्रावधान तथा कानुनको ब्याख्या गर्ने विषयमा दक्ष थिएनन् । सपना अधिकारीले कानूनमा स्नातकोत्तर गरेको केही समय मात्र भएको थियो । उपसचिवमा बढुवा भई उनी खानी तथा भूगर्भ विभागमा पुगेकी थिइन् । वैज्ञानिकहरु फन्दामा पर्दा अधिकारी पनि परिन् ।
पहिले जरिवाना तोकिसकेर समिति गठन भएकोमा फेरि पुनरावलोकन गर्न समिति गठनमा निहित स्वार्थ जब अख्तियारले छानविन गर्यो तब वैज्ञानिकहरु छाङ्गाबाट खसेजस्तो भएको बुझिएको छ ।
रामप्रसाद घिमिरे आफैंले विगतमा छानविन समिति गठन गरी सवा अर्ब जरिवानाको प्रतिवेदन बनाएका थिए । पछि उनैले यसमा पुनरावालोकन गर्न अर्को समिति बनाए । यसमा मन्त्रीले आदेश दिएको बुझिएको छ । अख्तियारको आँखामा परेको यो विषयले केहि गरौ भन्ने वैज्ञानिकहरुमा निराशा छाएको छ ।
विद्यावारिधी सम्म गरेका वैज्ञानिकदेखि खानीसम्बन्धी जानकार इन्जिनियरहरु पनि फन्दामा परेपछि समस्या देखिएको छ । खानी विभागका प्रतिष्ठा कमाएका कर्मचारीहरु समेत अख्तियारबाट छानविनमा परेपछि यस क्षेत्रमा काम गर्न वैज्ञानिकहरुले रुचि देखाउन छाडेका छन् । त्यसैले यस अभियोगको निक्ष्पक्ष छानविन हुनुपर्दछ र निर्दोषलाई फसाईन हुँदैन भन्ने आवाज उठ्न थालेको छ ।







प्रतिक्रिया दिनुहोस्