
मताराम (इन्डोनेसिया), साउन २२ । इन्डोनेसियाको लोम्बोक द्वीपमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या १०० पुगेको छ ।
इन्डोनेसियाको लोकप्रिय पर्यटकीय प्रान्त लोम्बोकमा आइतबार बेलुका ६.९ म्याग्निच्यूडको भूकम्प गएको इन्डोनेसियाली भूगर्भ सर्वेक्षण संस्थाले जनाएको छ ।
तर, अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस)ले भने यस भूकम्प ७ म्याग्निच्यूडको मापन गरिएको बताएको थियो ।
यस भूकम्पको केन्द्रविन्दु लोम्बोकबाट १८ किलोमिटर उत्तर-पश्चिममा जमिनको सतहबाट करिब १५ किलोमिटर गहिराइमा रहेको बताइएको छ ।
यसमा भूकम्पमा परी २०० भन्दा बढी व्यक्ति घाइते भएका छन् भने २० हजारले आफ्नो घरवास गुमाएका छन् ।
भूकम्पका कारण घरवास गुमाएका व्यक्तिहरुलाई शिविर बनाएर राखिएको र उद्धारकर्ताहरुले मानवीय सहयोग गरिरहेका छन् ।
इन्डोनेसियाको मौसम विज्ञान विभागले समुद्री सतहको अध्ययनपछि सुनामीको भने खतरा नरहेको जनाएको छ ।
यसै क्षेत्रमा गत साता गएको ६.४ म्याग्निच्यूडको भूकम्पमा परी १६ जनाको मृत्यु भएको थियो ।
सन् २००४ को डिसेम्बरमा इन्डोनेसियाको सुमात्रामा ९.१ म्याग्निच्यूडको शक्तिशाली भूकम्पपछि सुनामी आएको थियो । जसका कारण एक दर्जन तटीय क्षेत्रका दुई लाख ३० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।
यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले इन्डोनेसियाको लोम्बोक द्वीपमा गएको शक्तिशाली भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको संयुक्त राष्ट्रसंघका उपप्रवक्ताले सोमबार जानकारी दिएका छन् ।
हाल भूकम्पप्रभावित क्षेत्रमा जारी उद्धारकार्यमा सहयोग गर्न संयुक्त राष्ट्रसंघ तयार रहेको पनि सो विज्ञप्तिमा जनाइएको छ । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्