Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


विधेयकले स्वतन्त्र पत्रकारितालाई नियन्त्रण गर्न खोजिएको छ : अध्यक्ष थापा


0
Shares

कास्की, फागुन ५ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मिडिया काउन्सिल र सूचना प्रविधि विधेयकलाई सुधार गरेर संसद्मा प्रस्तुत गर्नु सकारात्मक रहेको बताएका छन् ।

मिडिया नेपालको केन्द्रीय समिति बैठक तथा प्रदेश समिति घोषणा कार्यक्रमलाई सोमबार पोखरामा सम्बोधन गर्दै उनले भने, “सरकारले सदनमा प्रस्तुत गरेका दुवै विधेयकले स्वतन्त्र पत्रकारितालाई नियन्त्रण गर्न खोजिएको छ, यस्तो कार्य प्रजातन्त्र र संवैधानिक मूल्यमान्यताका विपरीत रहेकाले त्यसमा सुधार गर्ने प्रयास सराहनीय छ ।”

नेपालको सञ्चारजगत्ले प्रजातन्त्रको स्थापना र मुलुकको समुन्नति तथा आर्थिक विकासमा सशक्त आवाज उठाएको स्मरण गर्दै अध्यक्ष थापाले लोकतन्त्रलाई सुदृढ तुल्याउनसमेत सञ्चार क्षेत्रको भूमिकालाई स्वतन्त्र र स्वाभिमानी ढङ्गले अघि बढ्ने वातावरण बन्नुपर्नेमा जोड दिए । नेपालको सञ्चारजगत्ले हाल व्यापारिक, राजनीतिक र बाह्य दबाब तथा प्रभाव गरी मुख्य तीन प्रकारको चुनौतीको सामना गरिरहेको उनले उल्लेख गरे ।

राप्रपाले विगतको गल्ती र कमजोरीलाई सच्याउँदै आगामी दिनमा देशको प्रमुख शक्तिका रुपमा स्थापित हुने गरी पार्टीका गतिविधि अघि बढेको र २०७७ साल जेठ २५ गतेदेखि नियमित समयभन्दा अगावै पार्टीको महाधिवेशन आयोजना गरिने उनले जानकारी दिए । पार्टीका वरिष्ठ नेता दीपक बोहोरा र बुद्धिमान थापाले सञ्चार क्षेत्रमा रहेका विकृति हटाएर प्रजातन्त्रको असली पहरेदारका रुपमा मिडिया नेपाल स्थापित हुन सफल हुनेमा विश्वास व्यक्त गरे ।

यसैबीच मिडिया नेपालको गण्डकी प्रदेश समितिको अध्यक्षमा सूर्य बास्तोला चयन भएका छन् । केन्द्रीय समिति बैठकले बास्तोलाको अध्यक्षतामा सात सदस्यीय प्रदेश कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा श्वाम खवास, कृष्ण केसी, सचिव विष्णु पौडेल, सहसचिव दयाराम गहतराज र कोषाध्यक्ष बद्री गौतम सदस्यमा गुरु दाहाल छन् ।

बैठकले प्रदेश नं ५ को उपाध्यक्षमा श्रीधर सुवेदी, कर्णाली प्रदेश उपाध्यक्षमा अंगत देवकोटा, सचिवमा कृष्ण खनाल, कोषाध्यक्ष राधिका जोशी र काठमाडौँ उपत्यका संयोजकमा दीपेशराज थारू तथा केन्द्रीय  सदस्यरुमा रञ्जीत प्रसाईं, विजय राउत र सविता पोखरेललाई मनोनीत गरिएको केन्द्रीय अध्यक्ष गोपाल पौड्यालले जानकारी दिए । रासस 

 

Skip This