३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


‘बी’ डिभिजन लिग फागुन ११ गतेदेखि, १२ टिमबीच भिडन्त


0
Shares

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता सकिएलगत्तै अखिल नेपाल फुटबल संघ एन्फा ‘बी’ डिभिजन लिगको तयारीमा जुटेको छ ।

यही फागुन ११ गतेदेखि हुने बी डिभिजनमा १२ टिमबीच भिडन्त हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित ए डिभिजनका लागि बढुवा पाउने छ ।

पुछारको टिम घटुवा हुनेछ । विजेताले १५ लाख, उपविजेताले ८ लाख, तेस्रो हुनेले ५ लाख र चौथो हुनेले ३ लाख रुपैयाँ पाउने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए ।

एन्फा अध्यक्ष कर्माछिरिङ्ग शेर्पाले केही दिनमै खेलको टाइसिट आउने र तयारी पूरा हुने बताए ।

यसैबीच उपाधिसहित ए डिभिजनमा बढुवाको लक्ष्य लिएर तयारीमा जुटेको बाँसबारी क्लबले प्रायोजक पाएको छ । बाँसबारीलाई अराउन्ड द हिमालयज प्रालिले मुख्य प्रायोजन गरेको हो ।

आइतबार राजधानीमा भएको एक कार्यक्रममा क्लबका अध्यक्ष प्रेम थापा र  हिमालयजकी प्रवन्ध निर्देशक सुधा रमनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतासँगै हिमालयजले क्लबलाई १० लाख रुपैयाँ उपलब्ध गराउने छ । यस्तै क्लबले अराउन्ड द हिमालयज बाँसबारीको नामबाट बी डिभिजन लिग खेल्नेछ ।

क्लबको जर्सीमा प्रायोजकको लोगो राखिने छ । बी डिभिजनका सबै खेल एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा हुनेछन् ।