२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


सम्मान नपाएको समाधि


5.902k
Shares

काठमाडौं, माघ १४ । काठमाडौंको बाक्लो बस्ती बागबजार । यही बजारको मुखमा जामे मस्जिद हातामा जो कसैको आँखा पुग्ने ठाउँमा रहेको एउटा समाधिबारे नेपाली समाज बेखबर छ । यो समाधि स्वतन्त्र भारतका लागि अंग्रेज फौजसँग लड्ने वीरङ्गनाको हो । जंगबहादुर राणाको शासनकालमा शरण लिएर यहाँ आएकी बेगम हजरत महलको समाधि मृत्युपूर्वकै इच्छाअनुसार १ सय ४२ वर्षअघि बनाइएको हो ।

घण्टाघर, रत्नपार्क काठमाडौंको सर्वाधिक भीडभाड हुने क्षेत्र । यसैको आडमा रहेको समाधिका बारेमा धेरैको अनभिज्ञता रहनसक्छ । भारतीय स्वतन्त्रता संग्रामकी यी वीरंगना अंग्रेज फौजसँग साहसपूर्वक लडिन । शत्रुको प्रलोभनमा फसिनन । सन् १८५६ मा अंग्रेजहरूले अवध कब्जा गर्ने क्रममा उनलाई देश निकाला गरी कलकत्ता लखेटे । तैपनि जब्बर भएर तिनीहरूसंग जुधेर त्यहीं बसिरहिन् । स्वतन्त्रताको पहिलो युद्धताका सन् १८५७ देखि एक वर्षसम्म बेगमले ब्रिटिस इष्टइण्डिया कम्पनीको विरुद्ध संघर्ष गरिन ।

उनकै नेतृत्वको भारतीय सेना लखनउमा पुनः कब्जा जमाउन सफल भएको इतिहास छ । लखनउ कब्जापछि आफना नाबालक छोरा बिरजिसकद्रलाई अवधको गद्दीमा बसाई अङ्ग्रेजहरूसंग जुधेकी बेगम अत्यन्त लोकप्रिय थिइन । जब बेलायती फौजले सन् १८५८ मार्चमा पुन: लखनउ कब्जा गरेपछि उनले आत्मसर्पणको सट्टा युद्ध शरणार्थी बन्ने निधो गरी विक्रम संवत १९१५ मा नाबालक छोरो बोकेरनेपाल आइन । जंगबहादुर राणाले उनलाईसंरक्षण दिए । आफ्ना साथमा बहमुल्य गहना, जवाहरत लिएर आएकी बेगम हजरतले जंगबहादुरलाई थुप्रै गहना दिएको बताइन्छ । नेपालमै रहँदाविक्रम संवत १९३६ चैतमा ५९ वर्षको उमेरमा उनको निधन भयो । उनकैइच्छा बमोजिम आफ्नै खर्चमा हिन्दुस्तानी मस्जिद नजिकैशब दफनाइएको नेपाली जामे मस्जिदका अध्यक्ष मोहमद शमीम बताउनुहुन्छ ।

हजरत छोरा नवाबबिरजिसकद्रलाई विक्रम संवत १९४४ बेलायती सरकारले माफी दिएर घर फर्कन दिएपछि उनी कोलकाता गएर नेपाल फर्किएनन । उनकी आमाको समाधिभने अहिले पनि जस्ताको तस्तै छ । तात्कालिन भारतीय राजदूत रन्जित रेले आफ्नो कार्यकालमा वर्षको एकचोटी समाधिमा फूलमाला चढाउने गरेको भएपनि त्यसयता त्यहाँ कुनै औपचारिक कार्यक्रम भएको कसैलाई थाहा छैन । एउटा स्वतन्त्रता सेनानीको हैसियतमै भएपनि नेपाल सरकारले उनीमाथि सम्मान दर्शाउनुपर्ने स्थानीयको मत रहेको छ ।