तनहुँ, फागुन ३ । निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनामा ‘केवल टनेल’ निर्माणको काम सुरु भएको छ ।
१४० मेगावाट क्षमता रहेको आयोजनाको दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोले विद्युतगृहका लागि ‘केवल टनेल’ खन्ने काम सुरु गरेको जनाएको छ ।
सिनो हाइड्रोले आयोजनाको प्याकेज दुईअन्तर्गतको सुरुङ, विद्युतगृह र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ ।
तनहुँ हाइड्रोपावरको प्याकेज दुईअन्तर्गत सिनो हाइड्रोपावरले टनेलको काम सुरु गरेको आयोजनाका उपनिर्देशक विदुर अधिकारीले बताए ।
सिनो हाइड्रोले झापुटारमा आवास, कार्यालय, क्रसर प्लान्ट, पहुँचमार्ग निर्माण गरिसकेको छ ।
दोस्रो प्याकेजको कामका लागि सिनो हाइड्रोसँग ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर र तीन अर्ब ८३ करोड १४ लाख (मूल्य अभिवृद्धि करबाहेक) मा सम्झौता भएको थियो ।
आयोजनाका लागि आवश्यक क्याम्प तथा विद्युतगृहको पहुँचमार्ग निर्माणका लागि १५० रोपनी क्षेत्रफल जग्गा अधिग्रहण गरिएको छ ।
त्यसैगरी, बाँधस्थलको पहुँचमार्गका लागि ५० रोपनी र जलाशय क्षेत्रका लागि एक हजार २३० रोपनी जग्गा अधिग्रहण भइसकेको आयोजनाले जनाएको छ ।
आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रसारणलाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याजसमेत) रहेको छ ।
आयोजनाको समग्र निर्माण २०८१ (जुन २०२४) मा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।





प्रतिक्रिया दिनुहोस्