
काठमाडौं, माघ ११ । सरकारले बुधबारदेखि देशभरका भन्सार कार्यालयहरुमा एकद्वार प्रणाली अनलाइन पूर्णरुपमा लागू गर्ने भएको छ ।
सरकारले विदेशबाट बस्तु आयात गर्दा हुने सबै झन्झट हटाएर भन्सारलाई क्यासलेस र पेपरलेस बनाउने उद्देश्यले सबै भन्सार कार्यालयहरुमा अनलाइन प्रणाली लागू गर्न लागेको भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले बताउनु भयो ।
७० औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसर पारेर नेपाल चेम्बर अफ कमर्सले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सापकोटाले एकद्वार प्रणाली लागू भएसँगै व्यवसायीहरुले भोग्दै आएका समस्याबाट मुक्त हुने बताउनुभयो ।
अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले भन्सार विभागले लागू गरेको अनलाइन प्रणाली भन्सार सुधारको कोषेढुङगा सावित हुने बताउनु भयो । उहाँले सरकारले भन्सारमा व्यवसायीहरुले भोग्दै आएको विभिन्न झमेला कम गर्नकै लागि भन्सारमा एकद्वार प्रणाली लागू गरिएको बताउनु भयो । मरासीनीले अहिले मिडियामा आए जस्तो मुलुकको अर्थतन्त्र संकटमा नभएको जिकिर गर्नुभयो ।
त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भन्सारमा आयातलाई नियन्त्रण नभएर व्यवस्थित गर्नु पर्ने बताउनु भयो । भन्सार नाकामा नेपाली बस्तुको निर्यात प्रर्वद्धन गर्नका लागि अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टाइन खडा गर्नु पर्ने उहाँको माग थियो ।
त्यस्तै नेपाल चेम्बर अफ कर्मसका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले भन्सार कार्यालयमा सरकारले अनलाइन प्रणाली सुरुवात गरे पनि बैंकिङ कारोबार डिजिटल नभएको स्मरण गराउनु भयो ।
प्रतिक्रिया दिनुहोस्