
काठमाडौं, फागुन १ । बजेटको आकार घटाएर साढे ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नु चुनौतीपूर्ण हुने अर्थविद्हरुले औंल्याएका छन् ।
बजेटको कार्यान्वयन पक्ष सुस्त हुँदा घटाइएको बजेट परिचालनको लक्ष्य पनि भेट्न मुश्किल हुने चिन्ता पनि व्यक्त गरिएको छ ।
हालसम्म चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा कुल विनियोजित बजेटको २७.६ प्रतिशतमात्रै खर्च भएको छ ।
आर्थिक वर्ष २०७६/७७ को पहिलो ६ महिनाको अवधिमा जम्मा ४ खर्ब २२ अर्बमात्रै खर्च भएको हो ।
अर्थ मन्त्रालयले बुधबार बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थतन्त्रका सूचकहरु सकारात्मक रहेको जनाएको छ । तर, पुँजीगत खर्चको अवस्था भने यसपटक पनि उस्तै दयनीय रहेको छ ।
सरकारले विकास बजेटलाई कार्यान्वयन र परिणाममुखी बनाउनुपर्ने अर्थविद्हरु बताउँछन् ।
पूर्वअर्थसचिव शान्ताराज सुवेदी क्षमता अभाव तथा लेखा उत्तरदायी नहुँदा बजेटको कार्यान्वयन पक्ष सुस्त देखिएको बताउँछन् ।
विकासै मन्त्रालय र आयोजना प्रमुखलाई यसबारे स्पष्टीकरण लिने व्यवस्था गरेर जिम्मेदार बनाउन सकेमात्र खर्चले गति लिन सक्ने विश्लेषण छ, अर्का अर्थविद् डा. गोविन्द थापाको ।
सरकारले साढे ८ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने दाबी गरेपनि निर्माणकार्य तथा कृषि उत्पादनमा ह्रास आएका कारण यो अत्यन्त चुनौतीपूर्ण हुने उनको भनाइ छ ।
सरकारले चालू आर्थिक वर्षको अबको ६ महिनामा ८० प्रतिशत पुँजीगत खर्च पु¥याउने लक्ष्य राखेको छ । यसका लागि मासिकरुपमा ५५ अर्ब बढी खर्च गर्नुपर्ने देखिन्छ । जसका लागि निकै मेहनत गर्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्