Logo १६ पुस २०८२, बुधबार | Thu Jan 1 2026


मेलम्ची आयोजनाबारे श्वेतपत्र जारी, असार मसान्तभित्र पानी सुन्दरीजल ल्याइने घोषणा


0
Shares

काठमाडौं, फागुन १ । सरकारले आगामी असार मसान्तभित्र मेलम्चीको पानी सुन्दरीजलसम्म ल्याइसक्ने घोषणा गरेको छ ।

बिहीबार खानेपानीमन्त्री बिना मगरले मेलम्ची आयोजनाबारे स्वेतपत्र जारी गर्दै उक्त घोषाणा गरेकी हुन् ।

यही आर्थिक वर्षभित्र मेलम्चीदेखि सुन्दरीजलसम्मको सुरुङ परीक्षण र सञ्चालन भइसक्ने उनको दाबी छ ।

सुन्दरीजल पानी प्रशोधन केन्द्र तथा वाग्मती नदीसम्मको आयोजनाको काम पनि असार मसान्तभित्रै सकिने मन्त्री मगरले जिकिर गरिन् ।

मेलम्चीको पानी आम जनताको सरोकारको विषय भएको भन्दै मन्त्री मगरले धेरै जटिलता र उतार–चढावलाई चिर्दै आयोजना सम्पन्न गर्ने लक्ष्यलाई पूरा गरेरै छाड्ने अठोटका साथ अघि बढेको बताइन् ।

काम राम्ररी अगाडि बढेकाले लक्ष्यभन्दा अगावै आयोजना पूरा हुने दाबी पनि गरिएको छ ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले वैकल्पिक उपाय अपनाएर भएपनि आगामी असार मसान्तभित्र मेलम्चीको पानी सुन्दरीजलसम्म आइपुग्ने बताए ।

आयोजनाको हालसम्म ९४ प्रतिशत भौतिक प्रगति भएको र २७ अर्ब ९४ करोड खर्च भइसकेको उनले जानकारी दिए ।

सरकारले मेलम्ची आयोजनाको बाँकी कामको ठेक्का गत असोजमा चीनको सिनो हाइड्रोलाई दिएको हो ।

सुरुमा केही समस्या भएपनि कम्पनीले अहिले राम्रै काम गरिरहेको र तोकिएको अवधिभन्दा केही अगाडि काम सकिनेसमेत देखिएको खत्रीको दाबी छ ।