-विराज रोस्यारा/ईमेज:
कैलाली । प्रदेश नम्बर ७ का अधिकांश किसान रोपाइँ सकेर रोजगारीका लागि भारत जान थालेका छन् ।
दशै तिहारजस्ता महत्वपूर्ण चाडपर्वका लागि खर्च जोहो गर्न उनीहरु रोजगारी खोज्दै भारत जान थालेका हुन् । प्रत्येक वर्षको साउन र भदौमा भारत जाने उनीहरुको कार्यतालिका जस्तै भएको छ ।
साउनको आधा समय बितिसकेको छ । प्राय सबैले रोपाइँ सकिसकेका छन् । साउन र भदौ दुई महिनासम्म खासै खेतिपातीको काम पनि छैन ।
यहीँ समयको सदुपयोग गर्दै कैलालीको त्रिनगर–गौरीफन्टा भन्सार नाकामा कामका लागि भारतका विभिन्न शहर पस्नेहरुको लर्को लाग्न थालेको छ ।
उसो त भारतमा त्यत्ति राम्रो कमाइ भने छैन तर पनि सामान्य मजदुरीको काम पाइने भएकोले त्यहाँ जाने गरेको उनीहरुको भनाइ छ ।
गौरीफन्टा नाकाबाट दैनिक रुपमा पन्ध्र सयभन्दा बढी मजदुर भारत प्रवेश गरेको तथ्यांक छ ।
उनीहरुको त्यत्ति ठूलो उद्देश्य पनि छैन छ त केवल फुर्सतको समयमा दशैतिहारको खर्च जोहो गर्न पाए हुन्थ्यो भन्ने ।
खेतीपातीबाट ६ महिना मात्रै खान पुग्ने र नेपालमा खासै काम पनि नपाइने भएकोले वर्षेनीजसो रोजगारीका लागि भारत पस्ने गरेको अछामका रामबहादुर साउद बताउंछन् ।
दैनिक जीवनयापन गर्न पनि समस्या हुने यस्ता किसानहरु धेरै नै छन् ।
देशमा कैयौँ आन्दोलन भए बदलामा ठूलाठूला राजनीतिक परिवर्तन पनि भए तर आफूहरु भने बिहानबेलुका हातमुख जोर्नमै पिरोलिनुपरेको हुँदा नेताका आश्वासन प्रतिबद्धता सबै झुटा भएको उनीहरुको गुनासो छ ।
काम गर्न सक्ने सक्रिय जनशक्ति विदेशिने क्रम पनि बढी नै छ । जसका कारण गाउँमा बृद्ध र बालबालिका मात्रै रहने गर्दछन् ।
यसरी अर्काको मुलुकमा जान बाध्य नेपालीलाई स्वदेशमै रोजगार सृजना गरी ढुक्कसँग बस्ने व्यवस्था नभएसम्म समृद्धि र विकासको नारा नारामै सीमित हुनेमा कुनै शंका छैन ।









प्रतिक्रिया दिनुहोस्