Logo १६ पुस २०८२, बुधबार | Thu Jan 1 2026


पुस्तकमा कर लगाउन थालेपछि नेपालमा विदेशी पुस्तकको आयात बन्द !


0
Shares

काठमाडौं । सरकारले विदशी पुस्तक आयात गर्दा १० प्रतिशत कर लगाउने प्रावधान लागू गरेपछि पुस्तक व्यवसायीले विदेशी पुस्तकको आयात बन्द गरेका छन् ।

पुस्तकमा कर लगाएर सरकारले पठन संस्कृति निरुत्साहित गर्न खोजेको आरोप लागिरहेका बेला नेपाल मुद्रण उद्योग महासंघले भने सरकारको यो कदमलाई स्वागत गरेको छ ।

चालु आर्थिक वर्षको बजेट नीति अनुसार सरकारले विदेशमा छापिएका पाठ्यपुस्तक आयातमा १० प्रतिशत भन्सार महसुल लगाउने प्रावधान लागू गरिसकेको छ ।

पुस्तक व्यवसायीका अनुसार पुस्तकमा भन्सार महसुल लगाउने देश नेपाल मात्रै हो । कर लगाएपछि मुलुक बाहिर छापिने पुस्तक महंगिएका छन् जसले पठन संस्कृति कमजोर भइरहेको छ ।

पुस्तकमा भन्सार महसुल लगाउनु संयुक्त राष्ट्रसङ्घीय शिक्षा, विज्ञान र सांकृतिक सङ्घ युनेस्कोको घोषणापत्र विपरीत भएको तर्क पनि उठिरहेको छ ।

अहिले भारतबाट ८० र अन्य मुलुकबाट २० प्रतिशत पुस्तक विदेशबाट आयात भइरहेको छ । तर नेपाल मुद्रण उद्योग महासंघले भने पाठ्यपुस्तक छपाईमा आत्मनिर्भर बन्न सक्ने दाबी गर्दै आएको छ ।

नेपालका छापाखानाले पुस्तक छाप्नका लागि आवश्यक कच्चापदार्थमा २८ प्रतिशत भन्सार तिर्दै आएकाले आयातित पुस्तकमा सोही अनुसार नै कर लगाउनुपर्ने नेपाल मुद्रण उद्योग महासंघको तर्क छ ।

अर्कोतिर पुस्तक व्यवसायीले पुस्तक आयात गर्दा भन्सारमा कम मूल्य देखाउने र पाठकबाट बढी शुल्क असुल्ने गरेको भन्दै आलोचना हुने गरेको छ ।

पाठक र पठन संस्कृतिलाई निरुत्साहित नपार्ने गरी सरकारले कर नीति अवलम्बन गर्नु आवश्यक छ ।