
काठमाडौं, माघ २ । महाधिवेशन प्रतिनिधि चयनको विषयलाई लिएर विवाद बढेपछि महाधिवेशन गराउन समेत नसकेको गैरआवासीय नेपाली संघ(एनआरएनए) मा विवाद समाधान गरी निर्वाचन तथा महाधिवेशन गराउने जिम्मा पुनः संरक्षक परिषदका अध्यक्ष डा. शेष घलेलाई दिइएको छ ।
संघको ८१औं आइसीसी पूर्ण बैठकले दशौं महाधिवेशन तथा आइसीसीको नयाँ नेतृत्व चयनका लागि घलेको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो ।
बैठकले संघको वर्तमान परिस्थितिमा संस्थालाई निकास दिनुका साथै संघमा आपसी एकता तथा भाइचारा कायम राख्दै सम्पूर्ण गैर आवासीय नेपालीहरुको साझा संस्थाको रुपमा स्थापित गर्न भन्दै यस्तो निर्णय गरेको जनाएको छ । समितिको सदस्यमा संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, संरक्षक जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, राम प्रताप थापा र वर्तमान अध्यक्ष कुमार पन्त रहनुभएको छ । बैठकले संघको महाधिवेशन तथा निर्वाचनको कार्यतालिका पनि तय गरेको छ ।
आगामी २८ फेब्रुअरीमा चुनाव गर्ने गरी यही जनवरी २६ सम्ममा महाधिवेशन प्रतिनिधिको नामावली संरक्षक परिषदमार्फत निर्वाचन समितिलाई उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्