Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


निगम पुँजी वृद्धि गर्न सर्वसाधारणलाई सेयर जारी गर्ने तयारी गर्दै


0
Shares

काठमाडौं, साउन २१ । नेपाल आयल निगमले पुँजी वृद्धि गर्न सर्वसाधारणलाई पनि सेयर जारी गर्ने तयारी गरिरहेको छ ।

निगमको हाल चुक्तापुँजी ११ अर्ब रुपैयाँ रहेको छ ।

निगमको हालै सम्पन्न साधारणसभाले सेयरपुँजी थप गर्ने निर्णयगरी चुक्तापुँजी २९ करोडबाट बढाएर ११ अर्ब पुर्‍याएको थियो ।

निगमले आफ्नो सञ्चित मुनाफालाई बोनस सेयरमा परिणत गर्दै चुक्तापुँजी बढाएको हो ।

निगमले थप सेयर जारी गरी थप पुँजी वृद्धि गर्ने योजना बनाएको छ ।

निगमले निकट भविष्यमै सर्वसाधारणलाई सेयर जारी गरी ३० अर्ब पुँजी पुर्‍याउने सोच बनाएको हो ।

दैनिक अर्बौंको कारोबार गर्ने निगमको चुक्तापुँजी पनि सोहीअनुसार पुर्‍याउनुपर्ने सोचअनुसार सेयर जारी गर्ने तयारी भइरहेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए ।

हाल निगममा सरकारको सबैभन्दा बढी ९९.४६ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

त्यसपछि नेसनल ट्रेडिङको ०.२५६ प्रतिशत, राष्ट्रिय बिमा कम्पनीको ०.१५३ प्रतिशत, नेपाल बैंकको ०.०७७ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ०.०१५३ प्रतिशत सेयर निगममा रहेको छ ।

निगममा सरकारको स्वामित्व ५५ प्रतिशतमात्र कायम हुनेगरी सेयर जारी गरिनसक्ने जनाइएको छ ।

तर, सेयरको यकिन परिमाणबारे भने अहिले नै भन्न नसकिने गोइतले उल्लेख गरे ।