कार्यालयभित्रै भोज गरेको भन्दै बेलायतका प्रधानमन्त्री जोनसनमाथि दबाव « Image Khabar


कार्यालयभित्रै भोज गरेको भन्दै बेलायतका प्रधानमन्त्री जोनसनमाथि दबाव


442
Shares

एजेन्सी । बेलायतमा पहिलो लकडाउनको समयमा कार्यालयभित्रै भोज आयोजना गरेको तथ्य बाहिरिएपछि प्रधानमन्त्री बोरिस जोनसन माथि दबाब बढेको छ ।

प्रधानमन्त्री जोनसनले पहिलो लकडाउनका बेला कार्यालयभित्र भोज आयोजना गरेको स्वीकारिसक्नुभएको छ । उहाँले २०२० को मे महिनामा डाउनिङ स्ट्रिटस्थित कार्यालयमा भएको भोजका लागि माफीसमेत मागिसक्नु भएको छ । उक्त घटनापछि बढेको जनआक्रोशलाई आफूले बुझेको उहाँको भनाइ छ ।

यसैबीच, सत्तारुढ दल कन्जर्भेटिभ पार्टीका वरिष्ठ नेताहरूले जोनसनलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन दवाब दिएका छन् । स्कटल्याण्डका कन्जर्भेटिभ नेता डगलस रोससहित सत्तारुढ सांसद विलियम र्‍याग, क्यारोलिन नोक्स र रोजर गेललगायत नेताहरूले जोनसनको राजीनामा मागेको बीबीसीले जनाएको छ ।

तर, उपप्रधानमन्त्री डोमिनिक राबसहित मन्त्रिमण्डलका सदस्य भने जोनसनको पक्षमा उभिएका छन् । हालै पहिलो लकडाउनका बेला जोनसनले १ सय बढी कर्मचारीलाई भोजका लागि निम्तो दिएको इमेल बाहिरिएको थियो ।

प्रधानमन्त्री कार्यालयभित्रको बगैचामा भएको भोजमा जोनसन र उहाँकी श्रीमती क्यारीसहित झण्डै ४० जना सहभागी भएको बताइन्छ । बाहिर हुने जमघटमा २ जनाभन्दा बढी मानिस भेला हुन नपाइने नियम लागू गरेर कार्यालयभित्रै भोज गरेको इमेल बाहिरिएपछि जोनसनको आलोचना भएको हो ।

जोनसन नेतृत्वको सरकारले भने कोभिड–१९ का मापदण्ड उल्लंघन नगरेको बताउँदै आएको छ ।