काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलको जारी संस्करणबाट सरस्वती युथ क्लब बी डिभिजनमा घटुवा भएको छ ।
सोमबार भएको खेलमा च्यासल युथ क्लबसँग २-१ ले पराजित हुँदै सरस्वती बी डिभिजनमा झरेको हो ।
नेपाली फुटबलको शीर्ष डिभिजनमा रहिरहने सम्भावनालाई जिवितै राख्न च्यासललाई हराउनुपर्ने दवावमा रहेको सरस्वती पराजित भएपछि एक खेलअघि नै रेलिगेशनमा परेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा च्यासललाई जापानी खेलाडीद्वय ताइगा नाकामुरा र हायातो वाकिनोले एक–एक गोल गरे ।
सरस्वतीका काजिम बुसारीले एक गोल फर्काए । सरस्वती रेलिगेशनमा परेसंगै ब्रिगेड ब्वाइज बीबीसी र सशस्त्र प्रहरीको एपिएफ सुरक्षित भएका छन् ।
१४ टोली सहभागी लिगबाट पुछारको एक टिममात्र रेलिगेशनमा पर्ने भएकाले अन्य क्लबहरु सुरक्षित भएका हुन् ।
२०६३ सालमा पहिलो पटक ए डिभिजन लिग खेलेको सरस्वती त्यसैवर्ष घटुवा भए पनि २०६८ साल यता ए डिभिजनमा थियो ।
यसैबीच उपाधिको दावेदार मच्छिन्द्र क्लब लिगको शीर्ष स्थानमा पुगेको छ ।
सोमबार एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा संकटा क्लबमाथि ३-१ को जित निकाल्दै मच्छिन्द्र शीर्ष स्थानमा पुगेको हो ।
मच्छिन्द्रका लागि देवेन्द्र तामाङ्ग, विशाल राई र दीपक राईले एक एक गोल गरे । संकटाका मेसोउकेले सान्त्वना गोल फर्काए ।
जितले संकटाको १२ खेलबाट २८ अंक भएको छ । ११ खेलबाट २६ अंकको त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा छ । तेस्रो स्थानको साविक विजेता मनाङ्ग मस्र्याङ्दी क्लबको ११ खेलबाट २२ अंक छ ।
मनाङ्ग दुई खेलअघि नै उपाधि होडबाट बाहिरिएको छ । मनाङ्गले बाँकी दुवै खेल जिते पनि मच्छिन्द्र र आर्मीबीच अन्तिम भिडन्त हुने भएकाले उपाधि मनाङ्गको भागमा पर्ने छैन ।
सोमबार भएको अर्को खेलमा सशस्त्र प्रहरीले फ्रेन्ड्स क्लबलाई ५-२ ले हरायो ।
सशस्त्रका लागि आशिष लामा र प्रविणकुमार स्याङतानले दुई दुई तथा कप्तान टोपबहादुर बिष्टले एक गोल थपे । फ्रेन्ड्सका विश्व अधिकारी र फिलिपे डी सौजाले एक एक गोल फर्काए ।
लिग अन्तर्गत मंगलबार दिउँसो सवा १२ बजे थ्रीस्टार क्लबले न्यूरोड टिम एनआरटीसंग तथा दिउँसो साढे ३ बजे मनाङ्गले नेपाल पुलिस क्लबसंग खेल्नेछ ।




प्रतिक्रिया दिनुहोस्