नारायणहिटीमा अनियमित काम गर्नेलाई कारबाही गर्न प्रहरी र अख्तियारलाई पर्यटन मन्त्रालयको पत्र « Image Khabar


नारायणहिटीमा अनियमित काम गर्नेलाई कारबाही गर्न प्रहरी र अख्तियारलाई पर्यटन मन्त्रालयको पत्र


650
Shares

काठमाडौं, पुस २८ । नारायणहिटी दरबार संग्रहालयका निवर्तमान कार्यकारी निर्देशकसहित संलग्नहरुलाई सार्वजनिक सम्पदाविरुद्धको कसुरमा कारबाही गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ ।

नारायणहिटी दरबार संग्रहालय परिसरमा क्यान्टिन/क्याफ्टेरिया संचालनसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदनसहित मन्त्रालयले निवर्तमान कार्यकारी निर्देशक भेषनारायण दाहाल र बतास समूहको बी म्यानेजेन्टका संचालकलाई मुलुकी अपराध संहिता २०७४ को दफा १४७ अनुसार कारबाहीका लागि लेखी पठाएको हो । यस संहिताले राष्ट्रिय तथा सार्वजनिक सम्पदा पूर्वस्वीकृतीबिना अतिक्रमण, भोगचलन गर्न नपाइने भनेको छ ।

यो कसुर प्रमाणित भएमा कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने भनेको छ । मन्त्रालयले प्रहरीलाई निवर्तमान कार्यकारी निर्देशक दाहालले ‘सार्वजनिक सम्पत्तिको संरक्षण संवर्द्धन गर्न नसकेकाले’ कारबाही गर्न पत्र लेखेको छ ।

पत्रमा दाहालले सरकारले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न नसकेको, बी म्यानेजमेन्टले गरेको अतिक्रमण रोक्न नसकेको उल्लेख गरिएको छ । यसलाई भ्रष्टाचारजन्य क्रियाकलाप भएकाले आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि लेखी पठाइएको छ ।

व्यापारिक घराना बतास समूहसँग मिलेमतोमा क्याफे सञ्चालनको सम्झौता गरेको सहसचिवस्तरीय छानबिन समितिबाट देखिएपछि मंगलबार नाराणहिटी दरबार संग्रहालयका प्रमुख कार्यकारी निर्देशक दाहालले पदबाट राजीनामा दिनु भएको थियो ।