Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


पार्टी सदस्य मनोनयनमा पक्षपात गरेको छैन, कमजोरी सच्याउँदै अघि बढ्छु : अध्यक्ष लिङ्देन


182
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सदस्यहरू मनोनयनमा कुनै पक्षपात नगरेको बताउनुभएको छ ।

बुधबार पार्टी कार्यालयमा आयोजित नवनिर्वाचत मनोनित पार्टी सदस्यहरूलाई शपथ ग्रहण गराउँदै अध्यक्ष लिङ्देनले आफूमाथि मनोनयनमा पक्षपात गरेको आरोप लगाइरहे पनि त्यो सत्य नभइ निष्पक्ष ढंगले पार्टी सदस्यहरू मनोनित गरेको बताउनुभएको हो ।

अध्यक्ष लिङ्देनले आगामी दिनमा पार्टीलाई सडक र निर्वाचन दुवै मोर्चामा सशक्त ढंगले प्रस्तुत गर्ने पनि बताउनुभयो । उहाँले पार्टीले राजसंस्था, हिन्दुराज्य पुनः स्थापनाको मुद्दासँगै भ्रष्टाचारविरुद्ध, जनजीविकासँग सम्बन्धित, रोजगारसँग सम्बन्धित अन्य मुद्दाहरूसमेत लिएर अघि बढ्ने बताउनुभयो ।

अध्यक्ष लिङ्देनले पार्टीमा मनोनयन सदस्यहरूको परिपूर्ति अहिले नै भइनसकेकाले अबका दिनमा लैङ्गिक, समावेशी र समानुपातिकताका हिसाबले गरिनेसमेत बताउनुभयो । उहाँले पार्टीमा महिलाको संख्यालाई संविधानबमोजिम पूर्ण गरेर जाने प्रतिबद्धता जनाउनुभयो ।

अध्यक्ष लिङ्देनले राजसंस्था र हिन्दुराज्य अहिले जनताको बीचमा लोकप्रिय मुद्दा बनेकोले अबका दिनमा यसलाई आफ्नो मुल मुद्दाको रूपमा लिइएको भए पनि जनताले पत्याउने ढंगको रणनीति नहुँदा विगतका कमजोरीलाई सच्याउँदै अघि बढ्ने बताउनुभयो ।