सन्तोष पुर्कुटी (इमेज)
ताप्लेजुङ, माघ २६ । हिमाली जिल्ला ताप्लेजुङमा पहिलोपटक व्यावसायिकरुपमा अन्डा उत्पादन सुरु भएको छ ।
स्थानीय नरेन्द्र मादेनले व्यावसायिकरुपमा अन्डा उत्पादन थालेका हुन् ।
उनको फार्मबाट दैनिक १८ सय अन्डा उत्पादन भइरहेको छ । फार्ममा २३ सय लेयर्स जातका कुखुरा रहेका छन् । सबै कुखुराले अहिले अन्डा दिन सुरु गरेका छैनन् ।
दैनिक १८ सय अन्डा बजारमा बिक्री भइरहेको मादेनले बताए । तर, बजारको मागअनुसार पुर्याउन सकिएको छैन ।
ताप्लेजुङमा अन्डाको दैनिक माग करिब पाँच हजार छ । माग अत्यधिक भएकाले बजारको समस्या नभएको उनको भनाइ छ ।
जिल्लामा झापा, चितवन, सिरहालगायतका स्थानबाट अन्डा आयात गर्ने गरिएको छ ।
केही व्यापारीले झापाको काँकडभिट्टा नाकाबाटसमेत भारतीय अन्डा ल्याउने गरेका छन् ।
मादेनको फार्ममा मासिक झन्डै पाँच लाख बराबरको कारोबार हुने गरेको छ ।
जिल्ला कुखुरा व्यवसायी संघका अध्यक्षसमेत रहेका मादेन अहिलेका युवाले आफ्नो बल र तागतलाई विदेशमा खर्च गरेको भन्दै गुनासोसमेत गर्छन् ।
ताप्लेजुङमा हाल मासुका लागि भने करिब १०० बढी कुखुरा फार्म सञ्चालनमा छन् ।





प्रतिक्रिया दिनुहोस्