Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


‘उपत्यकाभित्र विश्व सम्पदा जोड्ने साइकल लेन निर्माण गरिने’


0
Shares

काठमाडौं, माघ २६ । काठमाडौं उपत्यकाभित्रका विश्व सम्पदा जोड्ने गरी साइकल लेन बनाइने भएको छ ।

भूकम्पबाट क्षति भएका सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण कार्यको प्रगतिबारे जानकारी दिन पुरातत्व विभागले आइतबार गरेको पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले विश्व सम्पदा जोड्ने गरी साइकल लेन बनाइने जानकारी दिए ।

नेपाल भ्रमण बर्षलाई अझ प्रभावकारी बनाउन भक्तपुर, पाटन र वसन्तपुर दरबार क्षेत्रमा राती पनि भ्रमण गर्न सकिने गरी व्यवस्थापन भइरहेको मन्त्री भट्टराईले बताए ।

त्यसका लागि सम्पदा क्षेत्रमा लाइटिङ्गको काम भइरहेको छ । चालू आर्थिक बर्षमा भूकम्पले भत्काएका मध्ये ६० प्रतिशत सम्पदाहरुको निर्माण गरिसक्ने भन्दै मन्त्री भट्टराईले आगामी दुई बर्षभित्र सबै सम्पदाहरुको निर्माण पूरा हुने बताए ।

विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं उपत्यकाभित्रका कुनै पनि विश्व सम्पदा खतराको सूचीमा नपर्ने उहाँको भनाइ थियो । पुरातत्व विभागले काठमाडौं उपत्यकाभित्र भूकम्पले क्षति पुर्‍याएको ५ सय ४० वटा संरचनामध्ये १ सय ६९ को निर्माण सम्पन्न भएको जनाएको छ ।

२ सय ५६ सम्पदा निर्माणको क्रममा रहेको र बाँकी १ सय २३ वटामा काम हुन बाँकी रहेको जनाएको छ । यसबाहेक अन्य ३१ जिल्लाको ३ सय ८० वटा सम्पदामध्ये १ सय ३९को निर्माण सम्पन्न भएको विभागका निमित्त महानिर्देशक दामोदर गौतमले जानकारी दिए ।

विभागले अहिलेसम्म ६० प्रतिशत सम्पदाहरुको पुनर्निर्माण सम्पन्न भएको जनाएको छ ।