काठमाडौं, माघ २६ । विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृंखलामा नेपालले ओमानसँग कमजोर प्रदर्शन गरेको छ ।
फराकिलो हार
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको घरेलु मैदानमा खेलिरहेको नेपालले ओमानसँग दुवै खेल हारेको हो ।
पहिलो खेल १८ रनले हारेको नेपालले दोस्रो खेलमा आइतबार ८ विकेटको फराकिलो हार व्यहोरेको हो ।
नेपालको २४९ रन
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन बनायो ।
कप्तान ज्ञानेन्द्र मल्लले ५६, पूर्वकप्तान पारस खड्काले ३८, विनोद भण्डारीले ३५ तथा आरिफ शेख र कुशल मल्लले समान २८ रन जोडे ।
ओमानका अकिब इल्यासले ४ तथा मोहम्मद नदीमले ३ विकेट लिए ।
कमजोर बलिङ र फिल्डिङ
जवाफमा नेपालले कमजोर बलिङ र फिल्डिङ गरेसँगै ओमानले ४७ ओभर २ बलमा २ विकेटको क्षतिमा विजयी लक्ष्य पूरा गर्यो ।
शतक
प्रतियोगिताको पहिलो शतक प्रहार गर्नेक्रममा अलराउन्डर इल्यासले १०८ बलमा अविजित रहँदै १०९ रन बनाए । त्यस्तै, कप्तान जीशान मक्सुदले अविजित ६८ रन बनाए ।
त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले ओमानसँग दुवै खेल हार्दा अमेरिकालाई ३५ रनले हराएको छ ।
जारी प्रतियोगिताको अन्तिम खेलमा नेपालले माघ २९ गते अमेरिकासँग खेल्नेछ । त्यसअघि, ओमान र अमेरिकाले २८ गते मंगलबार खेल्नेछन् ।
नेपाल छैटौं स्थानमा
सात टोली सहभागी विश्वकप क्रिकेट लिग–२ को शीर्ष तीनमा रहने टोलीले सन् २०२३ मा हुने विश्वकपका लागि छनोट खेल्ने पाउनेछन् ।
ओमान ९ खेलबाट १४ अंकसहित शीर्ष स्थानमा छ भने अमेरिका १० खेलबाट १२ अंकसहित दोस्रो स्थानमा छ । नेपाल भने ३ खेलबाट २ अंकसहित छैटौं स्थानमा छ ।




प्रतिक्रिया दिनुहोस्