काठमाडौं, माघ २५ । यो साता सेयरबजार सकारात्मक रह्यो । नेप्से र कारोबार दुवैमा वृद्धि आएको हो ।
गत साताको तुलनामा यो साता नेप्सेमा ८ अंक बराबरको वृद्धि आयो भने कारोबारमा १३ प्रतिशत बराबरको सुधार आयो ।
गत विहीबार १३ सय २५ मा रहेको नेप्से यो हप्ता उतार–चढावबीच अन्तिम दिन बिहीबार १३ सय ३३ अंक कायम भएर थामिएको हो ।
आइतबार उच्च दरले उकालो लागेको नेप्से सोमबार सामान्य दरले सकारात्मक रहेको थियो । मंगलबार नेप्से ऋणात्मक रह्यो । बुधबार पुनः सामान्य अंकले सकारात्मक रहेको नेप्से अन्तिम दिन भने फेरि ऋणात्मक रहेर थामिएको हो ।
गत साता ६ अर्ब ५४ करोड बराबरको कारोबार भएकोमा यो साता १३ प्रतिशत बराबरले बढेर ७ अर्ब ४० करोड बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
यो साता नेप्सेमा औसत कारोबार नै एक अर्ब ४७ करोड बराबर रह्यो । यो साता नेप्सेमा नेपाल इन्स्योरेन्स कम्पनीको सबैभन्दा उच्च २७ करोड ३१ लाख बराबरको कारोबार भयो ।
नेपाल इन्स्योरेन्सलाई कारोबारकै आधारमा नेको इन्स्योरेन्स, सूर्य लाइफ इन्स्योरेन्स, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र नेपाल लाइफ इन्स्योरेन्सले क्रमशः पच्छ्याउन पुगे ।
यो साता नेप्सेमा प्रभु बैंक, गरिमा विकास बैंक, सानिमा बैंक र आशा लघुवित्त वित्तीय संस्थाका दुई करोड ७० लाख कित्ता बराबर बोनस सेयर सूचीकृत भएका छन् ।





प्रतिक्रिया दिनुहोस्