
काठमाडौं, माघ २५ । नेपालले आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत् त्रिकोणात्मक एकदिवसीय क्रिकेटमा पहिलो जित दर्ता गरेको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको हो ।
नेपालको १९० रन
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा ‘अलआउट’ हुनुपूर्व १९० रन बनाएको थियो ।
विश्व कीर्तिमान
नेपालका लागि विनोद भण्डारीले ७९ बलमा सर्वाधिक ५९ रनको योगदान गरे । जसमा ६ चौका र एक छक्कासमेत सामेल थियो ।
यस्तै, कुशल मल्लले ५१ बलमा ५० रन जोडे । एकदिवसीय अन्तर्राष्ट्रियमा यो उनको ‘डेब्यु’ खेल थियो । उनको नाममा विश्व कीर्तिमानसमेत बन्यो ।
कुशलले सबैभन्दा कम उमेरमा अर्धशतक बनाएर विश्व कीर्तिमान कायम गरेका हुन् । १५ वर्ष ३४० दिनमा अर्धशतक बनाउँदा उनको नाममा विश्व कीर्तिमान बनेको हो ।
यसअघि, अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने कीर्तिमान नेपालकै रोहितकुमार पौडेलको नाममा थियो ।
चलेन ब्याटिङ
यसबाहेक अमेरिकाविरुद्ध कप्तान ज्ञानेन्द्र मल्लले ३९ बलमा २१ रन बनाए । पारस खड्काले ५२ रनमा १९ रन, करण केसीले २१ बलमा १२ रन र सुशन भारीले १९ बलमा ११ रन जोडे । अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
ओपनर सुवास खकुरेल ३ रन बनाएर आउट भए । दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने कुनै रन नबनाइ पवेलियन फर्किए ।
यस्तै, आरिफ शेख व्यक्तिगत २ रनमा आउट भए । अविनाश बोहरा ५ रनमा अविजित रहे ।
अमेरिकाका लागि क्यामरुन स्टेभेन्सनले सर्वाधिक ३ विकेट लिए ।
अमेरिका १५५ रन अलआउट
जवाफमा अमेरिकाले ४४ ओभर १ बलमा सबै विकेट गुमाएर १५५ रनमात्र बनाउन सक्यो ।
अमेरिकाका लागि पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका इयान होल्यान्डले सर्वाधिक ७५ रन बनाए । १११ बल खेलेका उनले त्यसक्रममा ७ चौकासमेत प्रहार गरे ।
अमेरिकाका अरु खेलाडीलाई नेपाली बलरले लामो समय क्रिजमा टिक्न दिएनन् ।
करणले लिए ४ विकेट
नेपालजस्तै अमेरिकाको पनि सुरुआतबाटै विकेट पतन सुरु भएको थियो ।
अमेरिकालाई सस्तैमा रोक्नेक्रममा नेपालका करण केसीले सर्वाधिक ४ विकेट लिए । ७ ओभर १ बल बलिङ गरेका उनले १५ रनमात्र खर्चिए ।
यस्तै, सुशन भारीले ३, सन्दीप लामिछानले २ र कुशल मल्लले एक विकेट झारे ।
करण खेलको ‘म्यान अफ दी म्याच’समेत घोषित भए ।
नेपालको तेस्रो खेल आइतबार ओमानसित
शृंखलामा नेपालको यो पहिलो जित हो । घरेलु भूमिमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमासमेत नेपालको पहिलो विजय हो । अमेरिकाले भने लगातार दोस्रो हार व्यहोर्यो ।
त्रिकोणात्मक एकदिवसीय शृंखलाको अर्को टोली ओमान हो । नेपाल पहिलो खेलमा ओमानसित १८ रनले पराजित भएको थियो । अमेरिका पहिलो खेलमा ओमानसितै ६ विकेटले हारेको थियो ।
यही माघ २९ गतेसम्म चल्ने प्रतियोगितामा तीन टोलीले आपसमा दुई/दुई खेल खेल्नेछन् ।
नेपालले अब तेस्रो खेल आइतबार ओमानसित र अन्तिम खेल अमेरिकासित माघ २९ गते खेल्नेछ ।
विश्वकप क्रिकेट लिग–२ लाई सन् २०२३ मा हुने एकदिवसीय विश्वकप क्रिकेटको छनोटको रुपमासमेत हेरिएको छ ।
७ टोली सहभागी यो प्रतियोगिताका शीर्ष तीन टोलीले विश्वकप छनोट प्रतियोगिता खेल्ने अवसर पाउनेछन् ।
अंकतालिका
नेपाल दुई खेलबाट २ अंकसहित तालिकाको छैटौं स्थानमा छ । १० खेल खेलिसकेको अमेरिका १२ अंकसहित शीर्ष स्थानमा छ ।
८ खेलबाट १२ अंक नै जोडेको ओमान दोस्रो, समान खेलबाट ९ अंक जोडेको स्कटल्यान्ड तेस्रो, ७ खेलबाट ८ अंकसहित नामबिया चौथो स्थानमा छन् ।
युएई ७ खेलबाट ७ अंकसहित पाँचौं स्थानमा छ । ८ खेल खेलिसकेको पपुवा न्यूगिनी पुछारमा छ । उसले अंक जोड्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्