‘पढाइ र पैसाले उसलाई लुटेपछि जवानी खर्चिएर देश बनाउन हिँड्यो केटो राहदानी झोलामा बोकी !’ अहिले नेपाल र नेपालीको भाग्य विदेश र वैदेशिक रोजगारीमा गएर अट्किएको छ । पुरातन रूपमा रहेका तथा सामन्ती सोचका ‘बा र दाजु प्रवृत्तिका’ ठालु पार्टीहरु र नेपालमा खोलिएका नयाँ भुरेटाकुरे पार्टीहरुले फरकफरक सोच, सिप र बर्गतका नेपाली युवालाई देशभित्रै रोकेर/राखेर विविध प्रकार र प्रकृतिका रोजगारीहरु दिनै सकेनन् । यिनीहरुको सुदूर राजनीतिक यात्रा नै छैन । तात्कालिक रुपमा फरियावाद र नसनाताहरुलाई पार्टी र लाभका पदमा आवधिक जागिर खुवाउनु हरेक पार्टीका अध्यक्ष, सभापति र सुप्रिमोको घटीया सोच भैसकेको देखियो ।
आर्थिक विश्लेषक तथा लेखक केदार आचार्य भन्छन् –‘नारायणहिटी दरबारमा कफी खाएर गणतन्त्रको मज्जा लिउँला भनेको त, त्यतिकै हुने भो कि क्या हो ?!’ वर्तमान संस्कृति तथा पर्यटन मन्त्री प्रेम आलेले नायाराणहिटी दरबारभित्र बतास समूहद्वारा बनाइँदै गरेको ‘नारायणहिटी कफीसप’ लाई ठाडो आदेशमा बन्द गरिदिएपछि अहिले चर्चा र चासोको विषय भएका छन् । कफी सपको कार्यारम्भ अघिल्ला पर्यटन मन्त्री योगेश भट्टराईका पालामा भएको प्रमाण सञ्चार माध्यममा आएका छन् जसले नजानिँदो गरी पूर्वमन्त्री भट्टराईलाई तानेको छ । कुरोको चुरो केही दिनमा बाहिर आउने नै छ ।
यसै सन्दर्भमा कम्फर्ट सरकारकी सर्वाधिक चर्चित मन्त्री रामकुमारी झाँक्रीले गृह जिल्लामा खाएको पिर्के सलामी अहिले फेरि बिनाविच्चामा नेगेटिभ भाइरल भैरहेको छ । हिजो अरूले यसरी सलामी खाँदा विरोध गर्ने झाँक्रीहरु नै अहिले आफू भने बेहिच्किचाहट् यस्तो सलामी खाएर किन पटक–पटक बद्नाम हुन्छन् ? यो मानसिकताको सूक्ष्म अनुसन्धान गरिनु आवश्यक छ ।
चर्चित कथाकार तथा नेपाल प्रहरीका पूर्व प्रहरी अधिकृत महेशविक्रम शाह पिर्के सलामी बारे आफ्नो धारणा वस्तुगत रूपमा सम्यक पारालेयसरी राख्छन्, ‘आजकाल सामाजिक सञ्जालमा माननीय मन्त्री रामकुमारी झाँक्रीले तुलले छोपिएको पिर्कामाथि उभिएर सलामी खाइरहेको दृश्यमाथि व्यापक नकारात्मक टिकाटिप्पणी भैरहेको छ । मेरो विचारमा सेना वा प्रहरीले अर्पण गर्ने सशस्त्र सलामी कुनै व्यक्ति विशेषलाई नदिएर उसले धारण गरेको पदलाई दिइने हो । पद धारण गर्दैमा पनि सबैले सलामी पाउँदैनन् । कुनै संस्थाको निर्देशक वा महाप्रबन्धकको सशस्त्र सलामी खाने हैसियत हुँदैन । सेना वा प्रहरीको सशस्त्र टुकडीले सलामी दिँदा सलामी ग्रहण गर्नका लागि विशेष सलामी मञ्च तयार पारिएको हुन्छ । त्यो मञ्चलाई रातो कपडाले छोप्ने परम्परा छ । सलामी लिने व्यक्ति उभिएको सतह सलामी दिने समूह उभिएको सतहभन्दा उँचो हुनुपर्छ भन्ने मान्यता रहेको छ । त्यसैकारणले नै हामी सलाम खाइरहेको व्यक्तिलाई उँचो सतहमा उभिएको देख्छौं । सलामी दिनेले जहाँ उभ्याइदियो सलामी लिने व्यक्ति त्यहीँ उभिने हो । उसले आफ्नो मनले सलामी मञ्चको दावी गर्ने होइन । कहिलेकाहीँ उट्पट्याङ खालका सलामी मञ्चहरु जस्तोः खाट, गाडी, टेबुल, कुर्सी र पिरामा उभिएर सलामी खाइरहेको पनि हामीले देखेका छौं । यी सलामी मञ्चहरु सेना र प्रहरीका परम्परा र मान्यता विपरीत हुन् । यसमा सलामी खाने व्यक्तिको भन्दा त्यस्तो मञ्च तयार गर्ने व्यक्ति वा संस्था दोषी हुन्छ । माननीय रामकुमारी झाँक्रीको हैसियत सेना र प्रहरीको सशस्त्र टुकडीको सलामी ग्रहण गर्ने हैसियत हो । उहाँलाई नेपाल प्रहरीको सशस्त्र टुकडीले सलामी दिइरहेको छ । यो त एक गरिमामय स्वाभाविक प्रक्रिया हो, परम्परा हो, मान्यता हो । जिल्ला भ्रमणमा आएका मन्त्रीलाई जिल्ला प्रहरी कार्यालयको प्रहरीले सलामी अर्पण गर्नु प्रहरीको दायित्व हो भने राज्यको प्रहरीले मन्त्रीको सम्मानमा सलामीअर्पण गर्ने कार्यक्रम राख्दा मन्त्रीले सलामी ग्रहण गर्नु भनेको राज्यको सम्मानित पदप्रति दर्शाइएको सम्मानप्रति आदर गर्नु हो । यो संस्कार हो, सभ्यता हो । कुनै पनि मन्त्रीले मलाई सलामी खाने मन छ, सलामी देउ भनेर भन्दैन । सलामी सम्बन्धमा कसैलाई भ्रम छ भने हटोस् ।’
पूर्व वरिष्ठ प्रहरी अधिकारीको यो कुरा आफ्ना स्थानमा सही होला तर अन्तर्राष्ट्रिय क्षेत्रमा केकस्तो प्रचलन छ त्यो पनि हेर्नु पर्यो । तर अहिले जे जति मन्त्रीहरु या स्थानीय जनप्रतिनिधिहरुले सलामी खाएका फोटाहरु सामाजिक सञ्जालमा आएर नेगेटिभ कुप्रचार या भाइरल भैरहेका छन् तिनीहरुलाई एकमुष्ठ रूपमा विश्लेषण गरेर हेरेका खण्डमा के देखिन्छ भने ‘सलामी खानु पदको गरिमा वा कर्तव्य पनि होला । तर ती सलामी खाएका तस्वीरले जब लोकतान्त्रिक संस्कारमा भर्खर-भर्खर अभ्यस्त हुन लागेका नागरिकलाई इरिटेड बनाउँछन् भने ती तस्वीरहरु सम्बन्धित निकाय वा संस्थाले प्राइभेट रूपमा मात्र प्रकाशित गर्नु पर्यो न कि पब्लिक्ली प्रकाशन गरेर नागरिकले गाली गर्ने स्तरसम्म ल्याउनु भएन । लोकतन्त्रमा सबैको आ-आफ्नो कर्तव्य र अधिकारको सिमा छ भने त्यसकै परिधिभित्र रहनुपर्यो ।’ त्रिविमा लामो समय प्राध्यापन गरेका समाजशास्त्रका एक प्राध्यापक नाम नलेखिदिने सर्तमा भन्छन् ।
उनी अझ अघि भन्छन्, ‘यहाँ त मैले सलामी खाएँ लु यी हेर नागरिकहरु ! भनेर खाए खा नखाए घिच शैलीमा फोटा पोष्ट्याएर देखाउने घटीया चलन छ । हो त्यो चाहिँ सोह्रै आना खराब भनेको पो त । सात दशकदेखि लोतकन्त्रको अभ्यासमा अभ्यस्त छिमेकी देश भारतमा यस्तो चलन कहीँ पनि छैन, देखिँदैन । हामी कहाँमात्र किन यस्ता झिनामसिना विवाद आइरहन्छन् । यो भनेको ‘बन्दुक मिल्गया तो हबल्दार बन्गया’ भन्ने उखानजस्तो निम्न स्तरको मानसिकता नै हो ।’ यी दुवै भनाइ पछि आदरणीय पाठकहरु अब यहाँहरुले नै मूल्याङ्कन गर्नु पर्ने भयो । कि के ठिक के बेठिक रहेछ ?
‘देशको पनि जवानी हुन्छ !’ हाम्रो देशलाई उसको जवानीमा धेरै सिद्धान्तहरुले पालैपालोसँग लुटिरहेका छन् । हिजो पञ्चायतले लुट्नु लुट्यो । आज बहुदलका अनेक सपनाहरु देखाएर बहुदलले लुटिरहेको छ । जनता वाक्क र आजित भैसकेका छन् । लोकतन्त्र भनेको विचारको शुद्धि, व्यवहारको शुद्धि र विकासको शुद्धि हो तर नेपालमा ती कुराहरु सुदूर भविष्यका सपना मात्र भैरहेका छन् ।
चर्चित विश्लेषक विश्व सिग्देल हाकाहाकी भन्छन्, ‘लोकतन्त्र यस्तो दुई मुखे सुरुङ्ग हो जसको एक छेउबाट गधा हुलिदियो भने निस्कँदा गाई भएर निस्कन्छ । रत्नाकर हुलिदियो भने वाल्मीकि भएर निस्कन्छ । अंगुलीमाल हुलिदियो भने सन्त भएर निस्कन्छ । तर हामीले लोकतन्त्रको यस्तो विद्रूप भाष्य निर्माण गर्यौं, यहाँ त गाई हुले गधा, वाल्मीकि हुले रत्नाकर र सन्त हुले अंगुलीमाल भएर निस्केका छन् ।’यस्तो लोकतन्त्र आउँछ भनेर थाहा पाएको भए हामी जानीजानी अप्रिल क्रान्तिमा सामेल नै हुने थिएनौं । अहिले अधिकांश प्रबुद्ध नागरिकहरुको मुखारविन्दबाट संघीयताले विभिन्न क्षेत्र र तहमा पारेका स्वाँङबाट यही कुरा आउट पुट भैरहेको छ ।
त्यसैले भनिएको छ कि, अबका युवापुस्ताले जो जहाँ छ त्यहीँबाटै वृद्ध पुस्ताका विरुद्धमा हस्तक्षेपकारी भूमिका अपनाउनु पर्यो अनि मात्र देशको भलाइ छ । किनकि ‘देशको पनि जवानी हुन्छ !’ अहिले हाम्रो छिमेकी देश श्रीलङ्का कोरोना महामारी र त्यहाँ विद्यमान् राजनीतिक छिनाझप्टीका कारण आर्थिकरूपमा मटियामेट भएर टाट पल्टिने स्थिति आइसकेको समाचारहरु सञ्चार माध्यममा आइरहेका छन् । अहिले उसलाई परेको पिर भोलि हामीलाई नपर्ला भन्ने छैन । कथम् लोकतन्त्रकै बाटो भएर त्यो दिन नेपालमा पनि नआऊला भन्न सकिन्नँ । बेलैमा सबैमा चेतन भया ।
प्रतिक्रिया दिनुहोस्