
काठमाडौं, माघ २५ । नेपालका कुशल मल्लले एकदिवसीय क्रिकेटमा ‘डेब्यु’मै सबैभन्दा कम उमेरमा अर्धशतक बनाएर विश्व कीर्तिमान कायम गर्न सफल भएका छन् ।
आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत् अमेरिकाविरुद्धको खेलमा शनिबार उनले उक्त कीर्तिमान बनाएका हुन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका लागि छैटौं नम्बरमा ब्याटिङ गर्न आएका बायाँहाते अलराउन्डर कुशलले ५१ बल खेल्दै ५० रन बनाएका थिए । यसक्रममा उनले तीन छक्का र चार चौकासमेत प्रहार गरे ।
कुशलले १५ वर्ष ३४० दिनको उमेरमा विश्व कीर्तिमान बनाएका हुन् ।
यसअघि, एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने कीर्तिमान नेपालकै रोहितकुमार पौडेलको नाममा थियो ।
रोहितले युनाइटेड अरब इमिरेटस् (युएई)विरुद्धको एकदिवसीय सिरिजमा उक्त कीर्तिमान बनाएका थिए । त्यो बेला उनी १६ वर्ष १४६ दिनको थिए ।
नेपाल संकटको घडीमा रहेको बेला कुशल ब्याटिङ गर्न आएका हुन् । त्यो बेला नेपालले ५ विकेट गुमाएर मात्र ४९ रन बनाएको थियो । उनले विनोद भण्डारीसँग मिलेर नेपालको इनिङ सम्हालेका थिए ।
कुशलले भारतीय क्रिकेटका पूर्वकप्तान सचिन तेन्दुल्कर र पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीको रेकर्डसमेत तोडेका छन् ।
यसअघि, सचिनले टेस्टमा १६ वर्ष २१३ दिन तथा अफ्रिदीले १६ वर्ष २१७ दिनको हुँदा अर्धशतक प्रहार गरेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्