२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


हङकङमा चीनबाट आउने यात्रुलाई दुई हप्तासम्म क्वारेन्टाइनमा


0
Shares

काठमाडौं । हङकङले चीनबाट आउने सबै यात्रुलाई दुई हप्तासम्म अलग्गै क्वारेन्टाइनमा राख्न शुरु गरेको छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै यस्तो कदम चालिएको हो ।

चीनबाट आउने पर्यटकलाई होटलमा वा सरकारले तोकेका निश्चित सेन्टरहरुमा बस्न सुचित गरिएको छ भने हङकङका जनतालाई घरमै रहन भनिएको छ ।

कसैले पनि नियम उल्लंघन गरे जरिवाना र जेल सजायँको समेत व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् ।

नयां नियम लागु भएसंगै हङकङ फर्कन चाहने दशौं हजारको चीनसंग सीमा जोडिएको शेन्जेन शहरमा लाम लागेको बताइएको छ ।

चीनबाट फैलिएको कोरोना भाइरसका कारण हङकङमा एक जनाको मृत्यु भएको छ भने २६ जना संक्रमित भेटिएका छन् ।

गत हप्ता मात्रै चीनसंगको सिमा बन्द गर्न माग गर्दै चिकित्सा क्षेत्रमा काम गर्नेहरुले प्रदर्शन गरेका थिए ।

यता,चिनियाँ राष्ट्रपति सी चिनपिङले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसंग टेलिफोन कुराकानी गर्दै महामारी नियन्त्रण गर्नेमा पूर्ण विश्वस्त र सक्षम रहेको बताएका छन् । 

चीनमा मात्रै कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ सय १७ पुगेको छ ।

३१ हजार २०० संक्रमित भेटिएका छन् । चीन बाहिर कम्तिमा २५ मुलुकमा २ सय ७० जना संक्रमित पाइएका छन् । (एजेन्सी)