
काठमाडौं, माघ २३ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब पुनः शीर्ष स्थानमा पुग्न सफल भएको छ ।
आर्मी २–१ सशस्त्र
एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको एघारौैं चरणको खेलमा बिहीबार सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–१ ले हराउँदै आर्मी पुनः शीर्ष स्थानमा पुग्न सफल भएको हो ।
गोलकर्ता
आर्मीलाई जिताउन दुवै गोल सन्तोष तामाङले गरे । सशस्त्रका लागि आशिष लामाले एक सान्त्वना गोल फर्काए । सबै गोल मध्यान्तरअघि नै भएका थिए ।
आर्मीको २६ अंक
जितसँगै पहिलोपटक उपाधिको प्रमुख दावेदार रहेको आर्मीको ११ खेलबाट २६ अंक भएको छ ।
११ खेलबाटै मच्छिन्द्र क्लब २५ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
मच्छिन्द्र ६–१ सरस्वती
मच्छिन्द्रले बिहीबारै भएको पहिलो खेलमा पुछारको सरस्वती युथ क्लबलाई ६–१ को फराकिलो अन्तरले हरायोे ।
गोलकर्ता
सरस्वतीमाथि आधा दर्जन गोल बर्साउनेक्रममा दीपक राईले दुई तथा देवेन्द्र तामाङ, विशाल राई, सोमिदे एडिलाजा र आन्द्रेस नियाले एक/एक गोल गरे ।
सरस्वतीका काजिम बुसारीले खेलको अन्त्यतिर एक सान्त्वना गोल फर्काए ।
अंकतालिका
लिगमा साविक विजेता मनाङ–मर्स्याङ्दी क्लब १९ अंकसहित तेस्रो, थ्रीस्टार क्लब १७ अंकसहित चौथो स्थानमा छ ।
त्यसैगरी, संकटा क्लब, जावलाखेल युथ क्लब र न्यूरोड टिम (एनआरटी)को समान १५ अंक छ भने नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लबको समान १४ अंक छ ।
च्यासल युथ क्लबको १२, ब्रिगेड ब्वाइज क्लब (बीबीसी)को ८, हिमालयन शेर्पाको ७, सशस्त्रको ५ तथा सरस्वतीको ४ अंक छ ।
शुक्रबारका खेल
लिगअन्तर्गत् शुक्रबार पनि दुई खेल हुनेछन् । एन्फा कम्प्लेक्सको मैदानमा बिहान साढे ११ बजे थ्रीस्टारले संकटासित तथा दिउँसो ३ बजे पुलिसले बीबीसीसित खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्