३ श्रावण २०८२, शनिबार | Sun Jul 20 2025


ओमानको लगातार दोस्रो जित, अमेरिका ६ विकेटले पराजित


0
Shares

काठमाडौं, माघ २३ । काठमाडौंमा जारी आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय क्रिकेटमा ओमानले लगातार दोस्रो जित हासिल गरेको छ ।

बुधबार नेपाललाई १८ रनले पराजित गरेको ओमानले दोस्रो खेलमा बिहीबार अमेरिकालाई ६ विकेटले हरायो ।

अमेरिकाको २१३ रन

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित् ५० ओभरमा सबै विकेट गुमाएर २१३ रन बनाएको थियो ।

आयान हल्याण्डले ६५ तथा अक्षय होमराजले ४४ रन बनाएको इनिङ्समा ओमानका मोहम्मद नदीमले ३ तथा बिलाल खान, जीशन मसुद र अकिब इल्यासले समान २/२ विकेट लिए ।

४ विकेटको क्षतिमा जित

जवाफमा ओमानले ४९ ओभर ३ बल खेल्दै ४ विकेटको क्षतिमा जित हासिल गर्‍यो ।

ओमानलाई जिताउनेक्रममा अलराउन्डर इल्यासले सर्वाधिक ७२ रन जोडे । त्यस्तै, लगातार दोस्रो अर्धशतक बनाउनेक्रममा अर्का अलराउन्डर नदीमले अविजित रहँदै ५५ रन बनाए । सुरज कुमारले अविजित ३३ रनको योगदान दिए ।

शनिबार नेपालको भिडन्त अमेरिकासित

यही माघ २९ गतेसम्म चल्ने प्रतियोगितामा तीन टोलीले आपसमा दुई/दुई खेल खेल्नेछन् । शुक्रबार कुनै खेल छैन ।

शनिबार नेपालको भिडन्त अमेरिकासित हुनेछ । पहिलो खेल हारेकाले दुवै टोली जितका लागि खेल्नेछन् । घरेलु मैदानमा नेपाल जितका लागि बढी नै दबाबमा हुनेछ ।

विश्वकप क्रिकेट लिग–२ लाई सन् २०२३ मा हुने एकदिवसीय विश्वकप क्रिकेटको छनोटको रुपमासमेत हेरिएको छ ।

७ टोली सहभागी यो प्रतियोगिताका शीर्ष तीन टोलीले विश्वकप छनोट प्रतियोगिता खेल्ने अवसर पाउनेछन् ।

अंकतालिका

अहिलेसम्म ९ खेलबाट अमेरिका र ८ खेलबाट ओमानको समान १२ अंक छ । ८ खेलबाट ९ अंक जोडेको स्कटल्यान्ड तेस्रो, ७ खेलबाट ८ अंक जोडेको नामिबिया चौथो स्थानमा छ । पाँचौं स्थानको युएईले ७ खेलबाट ७ अंक जोडेको छ ।

पहिलो खेल हारेको नेपाल छैटौं तथा ८ खेल खेलेर अंकविहीन पपुवा न्यूगिनी पुछारमा छ ।