इन्जिनियरको अभावले विकास निर्माणको कामले तिब्रता पाएन : मन्त्री यादव « Image Khabar


इन्जिनियरको अभावले विकास निर्माणको कामले तिब्रता पाएन : मन्त्री यादव


507
Shares

काठमाडौं, पुष १९ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले इन्जिनियरहरुको अभावको कारण मन्त्रालयले विकास निर्माणको काममा तिव्रता दिन नसकेको बताउनु भएको छ ।

प्रतिनिधि सभा अन्र्तगतको अर्थ समितिको बैंठकमा मन्त्री यादवले ८० प्रतिशतभन्दा धेरै इन्जिनियर पढाइका लागि बिदामा रहेको जानकारी दिनुभयो । कर्मचारी अभावले योजनाहरु अघि बढ्न नसक्दा पूँजीगत खर्चमा पनि कमी आएको उहाँको भनाइ थियो ।

त्यस्तै कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले पनि ठूला कृषि परियोजनाको काम गर्न कर्मचारी अभाव भएको बताउनुभयो । उहाँले अहिले कर्मचारी अभावकै कारण बजेट समयमा खर्च हुन नसकेको बताउनुभयो ।

बैठकमा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले कर्मचारी संयन्त्रले संघीयता नरुचाएको आरोप लगाउनुभयो । उहाँले माथिल्लो तहका कर्मचारीहरूमा तल्लो तहमा काम गर्न नरुचाउने प्रवृत्ति बढ्दै गएको भन्दै संघीयता कार्यान्वयनमा मात्र नभई बजेट खर्चमा समेत प्रत्यक्ष असर परेको बताउनुभयो ।

अर्थ समितिले विकास बैठकमा बजेट बढी छुट्याइएका मन्त्रालयहरूले पुँजीगत खर्च गर्न नसक्नुको कारणबारे विभागीय मन्त्री र सचिवहरूसँग जवाफ मागेको थियो ।