Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


टेलिकमको इन्टरनेट गुणस्तरिय बनाउने कार्ययोजना पेश गर्न संसदीय समितिको निर्देशन


65
Shares

काठमाडौं, पुष १९ । प्रतिनिधिसभा अन्र्तगतको विकास तथा प्रविधि समितिले इन्टरनेट सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने कार्ययोजना ३० दिनभित्र पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।

नेपाल टेलिकमको इन्टरनेट सेवा प्रवाहमा गुनासो आएको भन्दै समितिले टेलिकमले दिने इन्टरनेटको सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने कार्ययोजना ३० दिनभित्र समितिमा पेश गर्न निर्देशन दिएको हो । समितिले आगामी आयोजना जनताले अपेक्षा गरे अनुरुप बनाउन पनि टेलिकमलाई निर्देशन गरेको हो ।

समितिले टेलिकमले अघिल्लो आर्थिक वर्षमा सबै स्थानीय तहमा फोरजी सेवा बिस्तार गरिसक्ने कार्ययोजना समितिमा पेश गरेको उल्लेख गर्दै बाँकी रहेका ४३ स्थानीय तहमा सेवा पुर्‍याउने समयसीमासहितको कार्ययोजना पनि पेश गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सचेत गराएको छ ।

टेलिकमले पूर्वाधार निर्माणको काम अगाडी बढाउन नसकेको भन्दै समितिले आवश्यक जनशक्ति व्यवस्था गरी गुणस्तरीय सेवा प्रदान गर्ने व्यवस्था मिलाउन भनेको छ ।

त्यसैगरी कुनैपनि निकाय वा संस्थालाई निरुत्साहित हुनेगरी नभई संस्थाको हितमा हुनेगरी नियमावली संशोधन गर्ने प्रक्रिया अगाडी बढाउन ध्यान पुर्‍याउन सरकारलाई समितिको निर्देशन छ ।