Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


चर्को आलोचना भएपछि मन्त्री झाक्री- ‘हामीसँग दुईवटा विकल्प थियो, पहिलो रोज्यौं’


36.1k
Shares

काठमाडौं । गृहजिल्लामा पिर्के सलामी खाएको विषयमा चर्को आलोचना भएपछि शहरी विकास मन्त्री रामकुमारी झाक्रीले स्पष्टिकरण दिनुभएको छ ।

मन्त्रीको सचिवालयले सोमबार विज्ञप्ति जारी गर्दै आफूहरुले आलोचना हुन्छ भन्ने थाहा पाउँदा पाउँदै सलामी दिएको जनाएको छ ।

‘हामीलाई सामाजिक सन्जालमा आलोचना हुन्छ भन्ने पनि थाहा थियोे । तर, यो कुनै आलोचना विषय भने हैन,’ विज्ञप्तिमा भनिएको छ, ‘कानुनअनुसार राज्यको एउटा अगंले विशिष्ट व्यक्तिलाई आफ्नो कार्यालय परिसरभित्र दिने सम्मानको सामान्य प्रक्रिया हो ।’

आफूहरु विभिन्न कार्यक्रममा सहभागी हुनका लागि पाँच दिनदेखि गृहजिल्लामा रहेको र त्यसै क्रममा मदाने गाउँपालिकाको पुर्कोटदहस्थित इलाका प्रहरी कार्यालय निरीक्षण गर्न गएको विज्ञप्तिमा भनिएको छ ।

‘कार्यालय परिसरभित्र संघीय सरकारको मन्त्री हैसियतमा प्रवेश गर्दा संविधान,कानुन अनुसार सम्मान स्वरूप सलामी दिने प्रचलन रहेछ,’ त्यहाँ भनिएको छ, ‘आफ्नो परिसरभित्र प्रवेश गर्ने विशिष्ट व्यक्तिलाई सम्मान दिनु प्रहरीले आफ्नो कर्तव्य ठान्ने रहेछ ।’

आफूहरुसँग दुईवटा विकल्प भएको र मन्त्रीको भावनात्मक सम्बन्ध पनि भएकाले पहिलो विकल्प रोजेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘हामीसगँ दुईवटा विकल्प थिए, पहिलो विकल्प प्रहरी कार्यालयको निरिक्षण गर्ने कार्यक्रममा सहभागी हुने वा दोस्रो विकल्प कार्यक्रम रद्द गर्ने,’ विज्ञप्तिमा थप भनिएकाे छ, ‘हामीले पहिलो विकल्प नै रोज्यौं, आफ्नै गाउँपालिकाभित्र रहेको संघीय सरकारको महत्त्वपूर्ण कार्यालयको निरीक्षण गर्ने, यो प्रहरी कार्यालयसगँ मन्त्री ज्युको भावनात्मक सम्बन्ध पनि रहेको छ ।’