Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


अख्तियारको निर्णयमा भट्टराईले उठाए प्रश्न, दोषीलाई छाडेर निर्दोषलाई फसाउन खोजिएको त होइन ?


0
Shares

काठमाडौं, माघ २३ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललितानिवास जग्गा हिनामिना प्रकरणमा दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने गर्न खोजिएको हो कि भन्दै आशंका गरेका छन् ।

समाजवादी पार्टीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री भट्टराईले ललितानिवास जग्गा हिनामिना प्रकरणमा अख्तियारले दायर गरेको मुद्दाका सम्बन्धमा मुख खोल्दै आफूले असहज महशूस गरेको प्रतिक्रिया दिएका हुन् ।

उनले आफू कालकूट विष पिउन पनि तयार रहेका भन्दै जानीजानी दुष्कर्म गर्नेलाई सत्ताको छहारी दिन खोजिएको त होइन भन्ने प्रश्न पनि गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा भट्टराईले लेखेका छन्, ‘मन्त्री दोषी तर प्रम निर्दोष देखिँदा मैले पनि असहजता महसुस गरेको छु । सुर–असुर द्वन्द्वबाट निस्केको कालकुट विष पिएर शिवजी नीलकण्ठ बनेझैं देशलाई आवश्यक पर्छ भने म पनि नीलकण्ठ बन्न तयार छु । तर दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस् । जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्धले अघि देखिने चैं फस्ने नहोस् ।’

मन्त्रिपरिषद्ले सामूहिक रूपमा गरेका निर्णयहरू आफ्नो क्षेत्राधिकारमा नपर्ने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय गरेको सन्दर्भमा भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले, ‘देशमा व्याप्त भ्रष्टाचाररूपी क्यान्सरको एउटा अंश ललितानिवास प्रकरणमा अदुअआको प्रयत्न स्वागतयोग छ तर प्रथम दृष्टिमा यसमा कतिपय त्रुटि र अपूर्णता देखिन्छ । हाम्रा ऐन कानून र राज्यसंयन्त्र परिणाममुखीभन्दा प्रक्रियामुखी बढी भएकाले यस्तो हुनसक्छ ।’ भनेका छन् ।

ललितानिवासको ११४ रोपनी सरकारी, सार्वजनिक जग्गा कब्जा गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।